उरमाल : चिया बगानका श्रमिकको दु:खको झोली

मदन पुरस्कार–२०८१ प्राप्त गर्न सफल `उरमाल´ प्रसिद्ध नेपाली आख्यानकार छुदेन काविमोद्वारा लेखिएको दोस्रो उपन्यास पढेर सकेँ । उपन्यासको मुख्य कथा चिया बगानमा काम गर्ने श्रमिकहरूको जीवन, संघर्ष र तिनीहरूको सामाजिक तथा आर्थिक अवस्थामा आधारित छ । यी पात्रहरूको जीवन चियाका बोटझैँ एक–आपसमा जेलिएका र कलम काटेर फ्याँकिएका चियाका गाँछ झैँ अल्झिएका रूपमा प्रस्तुत गरिएको छ ।

`उरमाल´ शब्द स्वयंमा चिया टिप्ने झोलीको प्रतीक हो, जसले चिया श्रमिकहरूको श्रम, अस्तित्व र पहिचानको प्रतिनिधित्व गर्दछ ।

उपन्यासमा ब्रिटिशकाल र स्वतन्त्रतापछिको सामाजिक–राजनीतिक पृष्ठभूमिलाई सशक्त ढंगले उतारिएको छ । सोमरी, साकिला दिदी, थापा सर, दलबहादुर र बुधुवा जस्ता पात्रहरूले कथा–विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् । `आफ्नै माटोमा सुन फल्छ´ भन्ने प्रलोभनमा साहेबहरूले सिमानाका नेपालीहरूलाई बगानभित्र चिया श्रमिकका रूपमा श्रम शोषण गरेका कथाहरू छन् ।

देश स्वतन्त्र भएपछि चिया बगानहरू बन्द हुँदा बगानेहरुको जीवन भयावह बन्छ । जंगली जनावरको आक्रमणबाट छोरो गुमाएका सोमरी र बुधुवाको पीडा, क्षतिपूर्तिका लागि लामो समयसम्म सरकारी कार्यालय धाउनुपर्ने विवशता, अनि त्यसले उजागर गरेको राज्यप्रतिको उदासीनता -यी सबै घटनाहरूलाई उपन्यासले मार्मिक ढंगले प्रस्तुत गरेको छ ।
कतै कतै भूमिका नै नभएका पात्रहरूको प्रवेशले भने कथा लम्बिएको मात्र अनूभुति हुन्छ ।

मेरो बुझाईमा `उरमाल´ केवल चिया बगानका कामदारहरूको कथा मात्र नभई यो मानव श्रमको मूल्य, पहिचान र अस्तित्वको प्रश्न हो । यो उपन्यासले चर्चा गरेको शोषित वर्ग (चिया बगानका श्रमिक) को आवाजलाई उठाएको छ, जुन नेपाली-भारतीय साहित्यमा तुलनात्मक रुपमा कम देखिने विषय हो ।

स्थानीय भाषा-बोली र फरक भौगोलिक परिवेशका बारे रुचि राख्नेहरुका लागि यो पुस्तक पर्याप्त छ । दक्षिण एसिया विशेषगरी चिया बगान क्षेत्रका सामाजिक, सांस्कृतिक र आर्थिक पृष्ठभूमिका साथै स्थानीय बोली, सामाजिक बहुलता उरमालमा राम्रोसँग प्रस्तुत गरिएको छ ।

कृतिले राज्य र समाजप्रतिको उपेक्षा, गरिबी र वर्ग–असमानताको तीव्र चित्रण गर्दै श्रमको सम्मान र मानवताको पहिचान पुनःस्थापित हुनुपर्छ भन्ने सन्देश दिन्छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट