– डा. अजीज माउन्टासिर
पवित्र श्वेत परेवा — निर्दोष, मुक्त भई
आशाको बाला बोकी,
धरती र अथाह सागर पार गर्दछ
नाजुक सन्नाटामा एउटा गुलाफ फक्रन्छ
उनका पातलै पातहरू झुन्डिरहन्छन्—
मधुर आलिङ्गनझैँ कोमल स्पर्शमा
यस्तो बखत हृदयहरूले वाचा गरून्
र शान्ति अस्तित्वमा रहने कसमको
नवीकरण होस्
पवित्र श्वेत परेवा- पवित्र पंखसँगै
पवनको पंखमा चढी,
आशा बोकेर उड्दछन्
अनुपम छटासहित एउटा गुलाफ फक्रन्छ
कोमलताले सुम्सुम्याउँदै
संगमको मृदु मिठास बनी
शान्ति चिरस्थायी वाचा बनोस्-
न त अपरिचित स्वप्न, न त क्षणभरको झलक
बनोस् बरू प्रतिज्ञा एउटा
जुन प्रत्येक दिन अनि वर्ष हरेक हृदय
र हामी हिँड्ने गोरेटाहरूमा पुनः नवीकरण होस्
(मोरक्कोका प्रसिद्ध कवि डा. अजीज माउन्टासिर अन्तर्राष्ट्रिय सृजनात्मकता र मानवता मञ्चका अध्यक्ष हुनुहुन्छ। कवि कुमाराज सुवेदीद्वारा अनुदित यो कविता माउन्टासिरको कविता कृति प्रेम र शान्तिमा समावेश छ ।)





