पोखरा, २२ भदौ ।
लघुकथाकार कल्याण पन्तको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । लघुकथा प्रतिष्ठान पोखराको तेस्रो साधारण सभा तथा अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो ।
कार्यसमितिमा उपाध्यक्ष गीता तिवारी, सचिव बिष्णु बास्तोला र कोषाध्यक्ष कृष्णप्रसाद बास्तोला (राजु) रहेका छन् । त्यस्तै सदस्यहरूमा रुपिन्द्र प्रभावी जोशी, शोभा लामिछाने, डा. नवराज न्यौपाने, ढाकामोहन बराल र गायत्री पराजुली चयन भएका छन् ।
अधिवेशनको उद्घाटन सत्रका प्रमुख अतिथि साहित्यकार सरुभक्तले लघुकथा प्रतिष्ठानले पोखरामा आख्यानको क्षेत्रमा पुर्याएको योगदान सराहनीय रहेको उल्लेख गर्दै, नेपालकै सन्दर्भमा लघुकथा पुरस्कार स्थापना, नियमित वाचन, समीक्षा र विविध कार्यक्रमले संस्थालाई बलियो बनाएको धारणा राखे । उनले आगामी दिनमा आफूबाट आर्थिक सहयोग निरन्तर रहने प्रतिबद्धता पनि व्यक्त गरे ।
साहित्यकार लक्ष्मण थापाको अध्यक्षतामा सम्पन्न साधारण सभाले अध्यक्षतर्फबाट प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष गीता तिवारीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको थियो ।
यसै अवसरमा हरेक दुई वर्षमा नेपाली लघुकथामा योगदान पुर्याउने कथाकार, समालोचक, अनुसन्धानकर्ता वा संस्थालाई प्रदान गरिने लघुकथा पुरस्कार स्थापनाको घोषणा गरिएको छ । पुरस्कार विनियम मस्यौदा लेखनका लागि डा. ईश्वरमणि अधिकारी (संयोजक), रुपिन्द्र प्रभावी जोशी र शोभा लामिछाने सम्मिलित तीन सदस्यीय समिति गठन गरिएको थियो । समितिले तयार पारेको विनियममा व्यापक छलफलपछि पुरस्कार स्थापनाको निर्णय गरिएको हो ।
समाजसेवी रामप्रसाद बतासद्वारा सुरु गरिएको १ लाख १ सय १५ रुपैयाँ अक्षयकोषलाई प्रतिष्ठानका पदाधिकारी, सल्लाहकार तथा लघुकथाप्रेमीहरूले थप योगदान गरी हाल १ लाख ७१ हजार रुपैयाँ पुर्याइएको छ । नयाँ कार्यसमितिले उक्त अक्षयकोषलाई विस्तार गरी पुरस्कार राशि २ लाख रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ।
डा. ईश्वरमणि अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा साहित्यकार दीपक समीपले शुभकामना दिएका थिए । अधिवेशन लगत्तै अध्यक्ष पन्त नेतृत्वको कार्यसमितिको बैठकले निर्वाचन समिति संयोजक अल्पविराम पोखरेली, निवर्तमान पदाधिकारी तथा सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेको थियो । साथै, अल्पविराम पोखरेली, सरुभक्त, लक्ष्मण थापा, डा. ईश्वरमणि अधिकारी र दीपक समीपलाई सल्लाहकारमा चयन गरिएको जानकारी सचिव बिष्णु बास्तोलाले दिएका छन् ।





