गैँडाकोट, २२ भदौ ।
अधिवक्ता रमेश काफ्लेद्वारा लिखित ‘सम्वृद्धिका पाइलाहरु’ लेखसंग्रह शनिबार गैँडाकोटमा सार्वजनिक गरिएको छ ।
त्रिवेणी साहित्य प्रतिष्ठान र रोटरी क्लब अफ गैँडाकोटको संयुक्त आयोजनामा होटल द नारायणी गैंडाकोटमा भएको कार्यक्रममा प्रमुख अतिथि गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति कविवर गोविन्दराज विनोदीलगायतले पुस्तक विमोचन गर्नुभएको हो । विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि विनोदीले यस पुस्तकले समाजको समृद्धि, नागरिक अधिकार, सद्भाव र सहिष्णुतामा सकारात्मक दृष्टिकोण प्रस्तुत गरेको बताउनु भयो ।
३२ वटा लेख समेटिएको पुस्तकमा भूमिसुधार, कानुनी शिक्षा, आत्महत्या, पर्यटन र आर्थिक विकास, दिगो विकास, मुलुकी ऐनलगायतका विषय समावेश छन् । पुस्तकलाई समीक्षकहरूले समाजशास्त्र र कानुन अध्ययनका लागि मार्गदर्शक हुने टिप्पणी गरेका छन् ।
त्रिवेणी साहित्य प्रतिष्ठानका उपाध्यक्ष भीमप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न साहित्यकार, अधिवक्ता र समाजसेवीहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।