`पाठकका माझमा लेखक´ कार्यक्रममा ५ किताबका विमर्श

भरतपुर, ९ भदौ ।
अभिव्यञ्जना साहित्य प्रतिष्ठान चितवनको आयोजनामा `पाठकका माझमा लेखक´ कार्यक्रमको पहिलो शृङ्खला आइतबार आरम्भ कलेज भरतपुरमा सम्पन्न भयो ।

पहिलो शृङ्खलामा रामकृष्ण अनायासको गजलसङ्ग्रह `अनायास´ बारेमा किसान प्रेमी, गायत्री अधिकारीको उपन्यास `वर्तमान´ बारेमा सञ्जीव पौडेल, प्रभात सुवेदीको संस्मरण `विदेशी साथी´ बारेमा उदय अधिकारी, विपिन पाठकको कवितासङ्ग्रह `मरुभूमिमा वासन्ती याम´ बारेमा रमेश प्रभात (सामना पहाडले प्रस्तुत गर्नुभएको) र सरला जोशीको कथासङ्ग्रह `सपनाको देश´ बारेमा नरेन्द्र पौडेलले समीक्षात्मक टिप्पणी प्रस्तुत गरे ।

‘अनायास’माथि किसान प्रेमी

गजल मञ्च चितवनका अध्यक्षसमेत रहेका युवा गजलकार रामकृष्ण अनायासको गजलसङ्ग्रह ‘अनायास’ विषयवस्तुका हिसाबले अब्बल रहेको टिप्पणी गर्दै गजलकार किसान प्रेमीले बताए । गजलका माध्यमबाट नेपाली राजनीतिको बिग्रँदो अवस्था र समाजमा व्याप्त विकृति र विसङ्गतिविरूद्ध व्यङ्ग्यात्मक शैलीमा आवाज उठाएको उनले बताए ।

‘गजल विधा साहित्य क्षेत्रको महासागर हो । त्यसकारण गजलको सिर्जना गर्नु भनेको सामान्य विषय होइन’, गजल मञ्च चितवनका संस्थापक अध्यक्षसमेत रहेका गजलकार प्रेमीले भने, ‘तर पनि रामकृष्ण अनायासले नेपाली राजनीतिकर्मीहरुलाई कडा चुनौती दिएका छन् ।’ छिमेकी मुलुकले नेपालमाथि गरेको हेपाहा प्रवृत्तिलाई पनि गजलकै माध्यमबाट कडारुपमा प्रतिवाद गर्न सफल भएको उनको भनाइ छ ।

‘वर्तमान’माथि सञ्जीव पौडेल

लेखक सञ्जीव पौडेलका अनुसार गायत्री अधिकारीको कथासङ्ग्रह ‘वर्तमान’ले नेपाली समाजको वर्तमान अवस्थाबारे बताएको छ । स्वदेशबाट विदेशसम्मको यात्रा, त्यसपछि नेपालमा हुने घटना/परिघटनाको वरिपरि सुन्दर ढङ्गले कथा घुमाउन लेखक सफल भएको पौडेलले बताए । उपन्यासभित्रको कथा, पात्र र परिवेशको संयोजन पनि असाध्यै राम्रो रहेको उनको भनाइ छ ।

भाषाशैलीमा सरल र मिठासपूर्ण प्रस्तुतिले पनि उपन्यासले पाठकलाई आकर्षित गराइराख्ने उनले बताए । उपन्यासमा लमजुङतिरको भाषालाई प्रयोगमा ल्याउँदा थप मिठासपन दिएको पौडेलको भनाइ छ । ‘उपन्यासको कथालाई वियोगान्तरुपमा टुङ्ग्याइएको छ,’ उनले भने ।

‘विदेशी साथी’माथि उदय अधिकारी

समीक्षक/लेखक उदय अधिकारीले प्रभात सुवेदीको संस्मरण ‘विदेशी साथी’माथि आफ्नो प्रतिक्रिया दिँदै लेखकले आफ्नो इमानदारितालाई लेखनमार्फत प्रस्तुत गर्न सफल भएको बताए । पहाडतिरबाट आएको कथा, शिक्षकको कथाको रुपमा बुझ्न सकिने संस्मरण पढ्दा आत्मकथा, यात्रा र संस्मरण एकै ठाउँमा अनुभूत गर्न सकिने उनले बताए ।

‘लेखकले आफ्ना कुनै पनि कुरा लुकाएका छैनन्’, उनले भने, ‘आत्मकथा, संस्मरणसम्बन्धी अधिकांश कृृतिमा धेरै कुरा लुकाएको पाइन्छ । तर, विदेशी साथीले त्यसलाई चिरेको पाइन्छ ।’ यात्रा संस्मरणलाई आत्मकथात्मक निबन्धको शैलीमा पस्किएको हुँदा सबै पाठकका लागि उपयुक्त कृति बजारमा आएको उनले बताए । पछिल्लो समय चितवनमा पढ्ने र सुन्ने बानीको विकास हुँदै जाँदा चितवनका स्रष्टालाई फाइदा पुग्नेसमेत उनले बताए ।

‘मरूभूमिमा वासन्ती याम’माथि रमेश प्रभात

युवाकवि विपिन पाठकको कवितासङ्ग्रह ‘मरूभूमिमा वासन्ती याम’माथि पाठक प्रतिक्रिया दिने जिम्मा भने रमेश प्रभातलाई परेको थियो । तर, प्रभातको टिप्पणीलाई लिखितरुपमा साहित्यकार सामना पहाडले सुनाएकी थिइन् । लेखेर तयार पारेको टिप्पणी सुनाउँदै पहाडले शिक्षा र समाजमा भएका विकृतिलाई कविताको माध्यमबाट बताउन खोजिएको बताइन् । पछिल्लो समय चितवनले राम्रो कविता दिएको समेत प्रभातले बताएको उनको भनाइ छ । ‘मरूभूमिमा वासन्ती याम’ चितवनबाटै फुलाउन सफल भएका छन्’, उनको प्रतिक्रिया सुनाउँदै पहाडले भनिन् ।

‘सपनाको देश’माथि नरेन्द्र पौडेल

सरला जोशीको कथासङ्ग्रह ‘सपनाको देश’ पढेपछि लेखकमा पूर्वीय दर्शनको प्रभाव पाएको पाठक नरेन्द्र पौडेलले बताए । नारी पात्रको भूमिकालाई सशक्तरुपमा प्रस्तुत गर्दै कथालाई नारीप्रधान बनाउन पनि लेखकले प्रयास गरेको पाठक प्रतिक्रिया दिँदै उनले भनेका छन् । ‘लेखकले आदर्श समाज निर्माण गराउने उद्देश्य बोकेको पनि देखिन्छ’, उनले भने, ‘सबै कथाले सामाजिक परिवेश र यथार्थ बोकेको छ ।’

कथामा जीवनलाई सुख र दुःखको चक्र हो भनेर पुष्टि गर्न खोजिएको उनले बताए । तसर्थ, कथाले नयाँ र पुरानो सबै पुस्ताको ध्यान खिच्न सक्ने क्षमता बोकेको उनको भनाइ छ । पुरानो इतिहासदेखि विनाशकारी महाभूकम्पले निम्त्याएको सामाजिक परिवेशसम्म कथाले समेटेको उनले बताए ।

पाठक प्रतिक्रियापछि भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मीले यस्ता कार्यक्रमले चितवनको साहित्य सिर्जना र पाठकमा सकारात्मक प्रभाव पार्ने हुँदा यसले निरन्तरता पाउनुपर्ने बताए । एउटा शृङ्खलामा दुई या तीनभन्दा बढी कृतिमाथिको प्रतिक्रिया सुनाउँदा फलदायी हुने उनले सुझाव दिए ।

अभिव्यञ्जना साहित्य प्रतिष्ठानले पहिलो शृङ्खलास्वरुप ‘पाठकका माझ लेखक’ शीर्षकको कार्यक्रम सुरू गरेको बताएको छ। महिनामा कम्तीमा पनि दुईवटा शृङ्खला सञ्चालन गर्ने योजना बनाएको प्रतिष्ठानकी अध्यक्ष विद्या भण्डारी ‘चिराग’ले बताइन् ।

चितवनका लेखकलाई पाठकसँग परिचित गराउन पनि यो कार्यक्रमले भूमिका खेल्ने आयोजकले जनाएको छ । सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाका अनुसार स्रष्टा स्वयम् उपस्थित गराएर पाठक प्रतिक्रिया सुनाउने उद्देश्यले कार्यक्रमको सुरूवात गरिएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट