वसन्त पराजुलीको उपन्यास ‘बखान’को गृह विमोचन

चितवन, ८ भदौ ।

लेखक वसन्त पराजुलीको नयाँ औपन्यासिक कृति ‘बखान’को गृह विमोचन गरिएको छ । शनिबार नेपालकै पहिलो सहकारी संस्था बखान बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा शारदानगरमा बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलको उपस्थितिमा बखानको गृह विमोचन गरिएको हो ।

उपन्यास बखानको केन्द्रमा नेपालकै पहिलो सहकारी संस्थापक एवं चितवनका राजनैतिक तथा सामाजिक व्यक्तित्व बखानसिंह गुरुङ रहेका छन् । सोही कारण चितवनमा सहकारी संस्थाले नै विमोचन गर्ने जिम्मा लिइएको हो । लेखक पराजुलीले यस कृतिमा चितवनको बस्ती विकास, स्थानीय धर्म–संस्कृति, सामाजिक रूपान्तरण र ऐतिहासिक घटनाक्रमलाई जीवन्त रूपमा चित्रण गरेका छन् ।
विशेषगरी वि.सं. २००७ देखि २०४० सम्मका राजनीतिक आन्दोलन र त्यसमा बखानसिंह गुरुङले पुर्‍याएको योगदानलाई उपन्यासमा मार्मिक ढंगले प्रस्तुत गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले बखान उपन्यासले सहकारी आन्दोलनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्ने विश्वास व्यक्त गरिन् ।

उपन्यासका मुख्य पात्र बखानसिंह गुरुङका नाति चन्द्रध्वज गुरुङले नेपालको इतिहासलाई औपन्यासिक रुप दिएरै भए पनि सङ्ग्रहित गर्ने काम भएको भन्दै लेखकप्रति कृतज्ञता व्यक्त गरे । नेपाली समाज र राजनीतिमा परिवर्तनको संवाहकको रुपमा स्थापित व्यक्तिलाई राज्यले समेत वास्ता नगरेको परिवेशमा एक जना लेखकले संरक्षण गर्ने प्रयास गरिएको उनको भनाइ छ । बाजेको राजनीतिक यात्रा र परिवारले भोगेका पीडादायी क्षणहरूको पनि उनले स्मरण गरे ।
सहकारी संस्थाका सल्लाहकार एवम् नेपाली काँग्रेस चितवनका पूर्वसभापति तोपमानसिंह गुरुङले सहकारी आन्दोलन, चितवनको बस्ती विकास र सामाजिक योगदानमा देशले सम्झिनुपर्ने व्यक्तिको जीवनीमा आधारित रहेर उपन्यास लेखिँदा एउटा दस्तावेजको रुपमा यसलाई स्वीकार्न सकिने प्रतिकृया दिए ।

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले उपन्यासले ओझेलमा परेका एक महत्त्वपूर्ण व्यक्तित्वको योगदानलाई उजागर गरेको भन्दै लेखकको प्रशंसा गरे । २०३९ सालमा कानुन, न्याय तथा भूमिसुधार मन्त्री बनेका बखानसिंह गुरुङले प्रजातन्त्रिक आन्दोलनका क्रममा दुई छोरा गुमाएका थिए । राजनीतिक संघर्षकै क्रममा घरसमेत गुमाउनु परेको इतिहासलाई लेखकले पुस्तकमार्फत मार्मिक ढंगले प्रस्तुत गर्ने जमर्को गरेका छन् ।

लेखक पराजुलीका अनुसार बखान वास्तविक घटनामा आधारित भए पनि कलात्मक स्पर्श दिइएको उपन्यास हो, जसले इतिहास, राजनीति, संस्कृति र विकासलाई जोड्दै चितवनको महत्त्वपूर्ण कालखण्डलाई दस्तावेजीकरण गर्ने प्रयास गरेको छ । यसअघि पराजुलीका कुमाता, मोम्चो र ड्रिमी आइज नामक कृतिहरू प्रकाशित भइसकेका छन् ।
कृतिका हिसाबले चौथो भए पनि औपन्यासिक हिसाबले भने पहिलो कृतिको रुपमा बखान प्रकाशन गरेका पराजुली नेपाल पत्रकार महासंघ चितवनका वर्तमान अध्यक्ष हुन् । उनी चितवनबाटै करिब दुई दशकयता पत्रकारितामा सक्रिय छन् । शिखा बुक्सले प्रकाशन गरेको बखान यसअघि शनिबार काठमाडौँको नेपाल प्रज्ञाप्रतिष्ठानमा भव्य कार्यक्रमका बीच विमोचन भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट