मकवानपुर, १ वैशाख ।
आगामी जेठ ४ गते आइतबार हेटौंडामा बागमती प्रदेश स्पोर्टस् अवार्ड हुने भएको छ । बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा अर्वाड कार्यक्रम गरिने बिहीबार पत्रकार भेटघाटमार्फत जानकारी गराइएको हो ।
पत्रकार भेटघाटमा प्रदेशका पुर्व तथा वर्तमान खेलाडी, प्रशिक्षक र पत्रकारलाई सम्मान गर्ने उदेश्यका साथ प्रदेश स्पोर्टस अवार्ड गर्न लागिएकाे युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन जानकारी दिए । राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा सफलता प्राप्त गरेका पूर्व र वर्तमान खेलाडी जसले प्रदेश र सिङ्गो राष्ट्रको गरिमा बढाउन महत्वपूर्ण योगदान पुयाएका छन्, त्यस्ता खेलाडीलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिने उनले बताए ।
खेल क्षेत्रमा प्रवेश गरेका युवा नयाँ खेलाडीलाई खेलकुदमा आवद्ध हुन हौसला र प्रेरणास्वरुप अर्वाड प्रदान गरिने उनले जानकारी दिए । बागमती प्रदेश स्पोर्टस अवार्डमा वर्षका उत्कृष्ट खेलाडी, महिला, पुरुष, युवा, प्रशिक्षक, लाइभ टाइम एचिभमेन्ट, बागमती खेलकुदको शान, लोकप्रिय खेलाडी, र उत्कृष्ट पत्रकारसमेत गरी ८ विधामा १२ जनालाई अर्वाड प्रदान गरिन लागिएको बताइएकाे छ ।
उत्कृष्ट खेलाडी महिला पुरुष, लाइभ टाइम एचिभमेन्ट, बागमती खेलकुदको शान र प्रशिक्षकलाई जनही १ लाखको पुरस्कार प्रदान गरिनेछ भने बाँकीलाई जनही ५० हजार रुपैयाँ सहित अवार्ड दिइने आयोजकले जनाएको छ । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले पहिलोपटक आयोजना गर्न लागेको अवार्ड कार्यक्रममा साँस्कृतिक प्रस्तुतिहरु समेत रहने छ ।
कार्यक्रम सहजीकरणका लागि दीपक श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय प्राविधिक उप-समिति गठन गरिएको छ । अर्वाडका लागि खेलाडी छनौट गर्दा यसअघि पुर्याएको योगदान, खेल क्षेत्रमा परेको प्रभाव र नयाँ पुस्तालाई प्रेरणा लगायतका कुरालाई ध्यानमा राखेर गरिनेछ । साथै खेलकुदको प्रचारप्रसारमा सक्रिय भूमिका खेलेर योगदान पुर्याएका एक जना पत्रकारलाई सम्मान गरिने बताइएको छ ।
साथै मन्त्रालयले युथ समिट भने केही सातापछि आयोजना गर्ने पत्रकार भेटघाटमा जानकारी दिइएकाे छ ।





