प्रश्नै प्रश्नहरू ! (कविता)

कथित जन्जिरका तप्काहरूले
कोपर्दै छन् मनलाई
सचेत हुन् या अर्धचेत
छोड्दैनन् डस्न
सुस्त तर डस्दै छन् पलपल
प्रश्नै प्रश्नका सुनामीहरूले
घँचेट्दै छन् जिन्दगीलाई
अन्योलतिर
घुएँत्रो हान्दै छन्
बौद्धिकताका मझधारले
बाफिलो बगरमा बज्रिने गरी
छिद्र छिद्र पार्दै छन् लक्षित डगरहरू
बेमौसमी हुन्डरीहरूले
खोज्दै छन् ठिङ्ग्र्याउन
बेथितिको इजलासमा
चारैतिरबाट अचरित्रको नेल ठोकेर
कल्पित संस्कारका सुसारेहरूले

जिन्दगी गाल्न खोज्दै छन्
महिषासुरलाई छिनभरमै
अपदस्थ गराउने दुर्गाहरूको
लगाउँदै छन् कपोकल्पित
आचरणका ठेउकाहरू
जीर्ण बनाउन खोज्दै छन्
सुमधुर सम्बन्धलाई
अस्तित्वमाथि थुपारेर
अनुत्तरित प्रश्नहरू
एक मूर्त तस्बिरसँगको

पहरामा लर्किएको सुनाखरीलाई
बनाउदै छन् पलाँस
उषाको जाज्वल्यलाई धकेल्दै छन् निशातिर
देखेका सपनाहरू
जल्दै छन् प्रश्नै प्रश्नका ज्वालाले
वासन्ती बहारमाथि
काउसो छर्दै छन्
हतारो छ डकार्न
अर्काको दु:खमा
सुकुटी र ह्विस्कीसँग मज्जा लिन
मार्कण्डेयहरूलाई !

पाश्चात्य होस् या पूर्वीय
भूगोलको जुनसुकै दिशामा किन नहोस्
हुर्केको संस्कार र कुरीतिले
छैन छोडेको
आधुनिकताको खोल ओढेर
पलपल टोकस्दै छन्
सकल मनलाई
केवल तरिका मात्र फरक छ
सहज जिएका राधाकृष्णमाथि
गड्दै छन् आँखा
उठ्दै छ औंलो
रोप्दै छन् प्रश्नै प्रश्नका झीरले
छताछुल्ल पार्न सफल जिन्दगीलाई
सायद
जलेका छन् तिनका खुसीसँग !

यी र यस्तै प्रश्नहरूले सुगन्धित फूलहरू छिनभरमै ओइलिन्छन्
शरद्का आँगनहरू उजाडिन्छन्
वसन्तमा पालुवा लाग्दैनन्
मुनालले गीत गाउँदैनन्
नाँच्दैनन् मयूरहरू
छिनमै चुँडिन्छ लगनगाँठो
विचलित हुन्छन् दुधे बालकहरू
तर पनि
अझैँ छोडिन्न घँचेट्न तारे भिरबाट
राधाहरूलाई ।

कताकता चसक्क गर्छ छाती
देखेर अवस्था
झर्छन् बलिन्द्र धारा
मडारिन्छ हृदय
ग्रीष्मको भुमरीझैँ
तथापि
सम्हालिन्छ मन
अँगालो हालेर परिस्थितिलाई
तत्पर हुन्छन् सीताहरू
अग्नि परीक्षा दिन
पवित्रताको
दहन गर्छन् कुकृत्यका जन्जाललाई
निष्ठापूर्वक
प्रश्नै प्रश्नका पहाडहरू
अब त
नाघ्छन्
सीताहरू ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट