मकवानपुर, १५ पुस ।
मनहरी गाउँपालिका–५ मा बाघले आक्रमण गरेर एक जना महिला र आधा दर्जनभन्दा बढी बाख्रा मारेकाे छ । आइतबार घाँस काट्न बारीमा गएकी ७२ वर्षीया कान्छीमाया रुम्बाकाे बाघको आक्रमणबाट ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
घाँस काट्न गएकी रुम्बा लामो समयसम्म पनि घर नफर्केपछि खोजी गर्दा शव भेटिएको थियो । ‘बाघले कान्छीमायालाई बोकेर हिँडेको हुनुपर्छ,’ मनहरी-५ नम्बर वडाका अध्यक्ष दीपेन्द्र अधिकारीले भने । भीडभाड देखेपछि बाघले शव छाडेर भागेको अनुमान गरिएको छ । टाउको तथा तिघ्राको भागको मासु बाघले लुछेको अवस्थामा रुम्बाको शव भेटिएको थियो । घटनास्थल मनहरी गाउँपालिका–५ को कार्यालयबाट १ सय मिटर पश्चिमतर्फ पर्दछ ।
सोही बाघले सोमबार बिहान करिब ५:३० बजे वसन्तपुरमै ७ वटा बाख्रा मारेको छ । स्थानीय सूर्यबहादुर मोक्तानको घर छेउको खोरमा राखिएको बाख्रा बाघले मारेको हो । ‘अचानक बाख्रा छुट्टै तरिकाले करायो । कतै खुट्टा अड्केर पो करायो कि भन्दै हेर्न जाँदा बाघले खोर भित्रै बाख्रा मारिरहेको देखियो,’ उनले भने ।
मनहरी पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको रूपमा रहेको छ । वन्यजन्तुको आक्रमणका लागि उच्च मानव बस्ती जोखिममा रहेको छ । अहिले बाघलाई नियन्त्रणमा लिन स्थानीय, प्रहरी, पर्सा र चितवन राष्ट्रिय निकुञ्जको टोली हात्तीसहित घटनास्थलमा पुगेको छ । हरेक वर्ष बढ्दो वन्यजन्तुको आक्रमणबाट स्थानीय त्रसित हुने गरेका छन् ।





