गैंडाकोट, २८ वैशाख ।
भगवान वराह दिव्य धाम श्वेत वराह मन्दिर सेवा समितिको सातौँ वार्षिक साधारणसभा मन्दिर परिसरमा शुक्रबार सम्पन्न भएको छ ।
समितिका अध्यक्ष वेदप्रसाद गौडेलको अध्यक्षतामा भएको सातौँ वार्षिक साधारणसभामा गैंडाकोट नगरपालिका- १ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मी प्रमुख अतिथि रहेका थिए । सातौँ साधारणसभा कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि तथा वडाध्यक्ष रेग्मीले भौतिक पूर्वाधार विकास र प्रचारकै अभावमा बराह मन्दिर र मन्दिर परिसरमा रहेको ताल ओझेलमा परेको बताए । उनले बराह मन्दिर र तालको प्रचार र संरक्षणमा लगानी गर्न वडाको समेत साथ रहने बताए । कार्यक्रममा वडा नम्बर- २ का अध्यक्ष प्रकाश सापकोटा, मौलाकालिका धार्मिक सेवा समिति अध्यक्ष शालिकराम सापकोटा, नारायणप्रसाद तिवारी, लक्ष्मी चालिसे, सीता सापकोटा, चेलिमाया सारु, प्रेम कुमारी बिक अतिथि रहेका थिए । सभामा समिथि सचिव प्रमानन्द चालिसेले आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यप्रगती प्रतिबेदन र प्रस्तावित कार्यक्रमहरु सभा समक्ष पेश गरेका थिए । त्यस्तै सभामा २०७९/०८० को कोषाध्यक्षको आर्थिक प्रतिबेदन र सोही अवधिको प्रस्तावित आय-ब्यय विवरण सेवा समितिका कोषाध्यक्ष ढगेन्द्रराज सापकोटाले राखेका थिए । सभामा उपस्थित सबैलाई उपाध्यक्ष रामबहादुर सापकोटाले स्वागत गरेका थिए । अक्षय तृतियाका दिन गरिएको सो सभामा उपस्थित सबैलाई जौको सातुमा गुण, चिनी, दही, सक्खरको सर्वत समेत वितरण गरिएको थियो ।





