खैरहनी, २६ वैशाख ।
खैरहनी नगरपालिकाले नागरिकको स्वाथ्य सुविधा विस्तारको लागि बहुसंख्यक नागरिकको पहुँचमा पुग्ने गरी विभिन्न स्थानमा खुला व्यायामशाला स्थापना गरेको छ ।
खैरहनी नगरपालिकाको वडा नम्बर १० कठार बजार, वडा नम्बर ११ को समी चोक, वडा नम्बर ६ मा निर्माणाधिन बालउद्यान पार्क अगाडि, वडा नम्बर ८ को धार्मिक उत्थान भवन छेउ, वडा नम्बर २ को विन्दवासिनी मन्दिरको आडमा र वडा नम्बर १३ को पुष्पलाल पार्कमा खुल्ला व्यायामशाला स्थापना गरिएको छ ।
नागरिक सचेतनामा अभिवृद्धि भएसँगै बिहान साँझ हिँडडुल गर्ने र व्यायाम गर्ने नागरिक बढेको हुँदा नागरिकको जीवनशैलीमा सुधार ल्याई स्वस्थकर जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले विभिन्न स्थानमा खुला व्यायामशाला स्थापना गरिएको खैरहनी नगरपालिकाका नगर प्रमुख शशिकुमार खनियाले जानकारी दिएका छन् । शहर बजारका नागरिकको खानपान र रहनसहनका कारण अनिवार्य व्यायाम गर्न आवश्यक हुने हुँदा खुला व्यायामशाला नागरिकको पहुँचमा पुग्ने भरपर्दो शारीरिक अभ्यासको माध्यम भएकोले नगरपालिकाले गत वर्षदेखि नै बजेट विनियोजन गरी यस्तो संरचना बनाइरहेको उनले उल्लेख गरे ।
शारीरिक अभ्यास, योग तथा खानपानमा शहर बजारका नागरिक सचेत रहन आवश्यक रहेको बताउँदै शारीरिक स्फूर्तिका लागि बिहान साँझ हिँडडुल गर्ने सर्वसाधारणलाई व्यायाम गर्न खुला व्यायामशालाले उत्प्रेरित गर्ने अपेक्षा गरिएको खैरहनी नगरपालिकाका उपप्रमुख कविता उप्रेतीले बताईन् ।
यसै आर्थिक वर्षभित्र वडा नम्बर १२ र ४ मा थप व्यायामशाला स्थापना हुने र आगामी आर्थिक वर्षसम्म लभग सबै वडामा खुला व्यायामशालाको व्यवस्था गर्ने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले बताए । व्यायामशालाको दिगो तथा प्रभावकारी व्यवस्थापनका लागि टोल विकास संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले जानकारी दिए ।




