मकवानपुर, २४ वैशाख ।
बागमती प्रदेश मन्त्रिपरिषद्ले २ वटा निर्णय गरेकाे छ । आइतबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले प्रदेश उच्च शिक्षा ऐन २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने तथा आगलागीमा परेर निधन भएका परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेकाे हाे ।
सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठका अनुसार उक्त ऐनको दफा १३ को (५) लाई संशोधन गर्न अनुकूल देखिएकाले अध्यादेश ल्याउने निर्णय गरिएको हो । उक्त दफामा रहेकाे प्रदेश विश्वविद्यालयको संरक्षक समिति (बोर्ड अफ ट्रष्टी) को पदावधि निर्धारणका विषयलाई स्पष्ट पार्न अध्यादेश जारी गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।
यसै गरी आइतबारकाे मन्त्रिपरिषद्काे बैठकले आगलागीमा परेर निधन भएका ३ जनाकाे परिवारलाई १/१ लाख रुपैयाँ दिने निर्णय गरेकाे छ । केही दिनअघि प्रदेशको ललितपुरमा २ जना र रामेछाप जिल्लामा १ जना वनका लागेको आगो नियन्त्रणमा लिने क्रममा मृत्यु भएकाे थिए । उक्त रकम आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद् व्यवस्थापन कोषमार्फत् उपलब्ध गराइने प्रवक्ता श्रेष्ठले बताए ।





