मकवानपुर, १ फागुन ।
मकवानपुरका छुट्टाछुट्टै स्थानमा भएका गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर २ गोलढुंङगा भर्याङडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडा बस्ने ४५ वर्षीय राजेन्द्र पिठाकोटी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार हेटौंडा–फाखेल–काठमाडौँ सडकखण्डअन्तर्गत काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा ९० प ३६०४ नम्बरको मोटरसाइकल सोमबार अपरान्ह ४ बजेर १५ मिनेटको समयमा सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।
सुरक्षाकर्मीको टोलीले मोेटरसाइकल चालक पिठाकोटीलाई करिब २०० मिटर तल भीरबाट गम्भीर घाइते भएको अवस्थामा उद्धार गरी उपचारका लागि हेटौंडा अस्पतालमा ल्याईएकोमा चिकित्सकले मृत घोषणा गरेको मकवानपुर प्रहरीले जनाएको छ ।
यसैगरी हेटौंडा उपमहानगरपालिका वडा नं.१० रानीमहल अगाडी ई–रिक्सा(मयुरी)मा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक हेटौंडा उपमहानगरपालिका–९ एचआइडी बस्ने १९ वर्षीय प्रशान्तकुमार ठाकुर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार साँझ ६ बजेर ४५ मिनेटको समयमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत कर्रा पुलबाट फरेष्टीतर्फ आउँदै गरेको ना १ ह ३१२७ नम्बरको ई–रिक्सा दाहिने तर्फ मोडने क्रममा सोही दिशातर्फबाट आउँदै गरेको बागमती प्रदेश ०३–००५ प ६२०५ नम्बरको स्कुटर ई–रिक्साको पछाडी ठक्कर खाएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी स्कुटर चालक ठाकुर घाईते भई उपचारका लागि नँया मेडिकल कलेजमा लगिएकोमा सोमबार दिउँसो २ बजे ३६ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।





