मकवानपुर, ९ पुस ।
बागमती प्रदेशकाे राजधानी हेटौंडामा जारी बृहत् खेलकुद तथा व्यापार महोत्सवअन्तर्गत सोमबार भएको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ज्योति तेक्वान्दो डोजाङ प्रथम भएको छ ।
१२ वटा तौल समूहमा भएको प्रतियोगितामा ज्योतिले ३ स्वर्ण, ३ रजत र ३ कास्य पदकसहित पहिलाे भएको हो । ३ स्वर्ण र एक काश्यसहित किरणचोक तेक्वान्दो डोजाङ द्वितीय भएको छ भने २ स्वर्ण, ४ रजत र एक काश्यसहित क्रियटिभ डोजाङ तृतीय भएको छ ।
पशुपति डोजाङले २ स्वर्ण, २ रजत र ३ कास्य पदक जितेको छ भने माउण्ट एभरेष्ट डोजाङले १ स्वर्ण र एक रजत जितेको छ । यस्तै टिसिएन डोजाङले एक स्वर्ण र एक रजत, जेनिथ डोजाङले ५ कास्य र ज्ञानोदय डोजाङले २ कास्य जितेको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा मकवानपुरको ८ वटा डोजाङले सहभागिता जनाएका थिए ।
विजेता खेलाडीहरुलाई नेपाली कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुली, हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, ६ नम्बर वडा अध्यक्ष विष्णु दाहाल, ८ नम्बर वडा अध्यक्ष राम थापा, ९ नम्बर वडा अध्यक्ष शुकराम केसी, १० नम्बर वडा अध्यक्ष फुर्वादोर्जे लामा, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बेष खड्की, पूर्व अध्यक्ष सानु लामा लगायतले पुरस्कार वितरण गरेका हुन् । महोत्सवमा दैनिक विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन भैरहेको छ ।
महोत्सवमा राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरीय गरी १३ वटा विधाका खेलमा स्पर्धा सैचालन हुनेछ । महोत्सव आयोजक समितिका संयोजक तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेष खड्कीले खेलकुद क्षेत्रको विकासका लागि आयोजना भएको महोत्सवमा सबै क्षेत्रको सहयोग प्राप्त भैरहेको बताए ।
प्रमोदले नचाए हेटौंडेलीलाई
त्यसैगरी महोत्सवमा सोमबार गायक प्रमोद खरेलले हेटौंडेलीलाई नचाएका छन् । खरेलकाे सांगीतिक प्रस्तुति सुन्न हेटौंडामा दर्शकहरुको भीड लागेको थियो ।
युवा पुस्ताले निकै रुचाएका गायक खरेलले महाेत्सवकाे आफ्ना करिब एक दर्जन गीत गाएका थिए । महोत्सवका दर्शकहरुले नाच्दै र गाउँदै उनलाई साथ दिएका थिए । सोमबार खरेलसँगै गायिका सहिमा श्रेष्ठ, गायक असिमकुमार कटुवाल र जादुगर बलराम सरकारको प्रस्तुति रहेको थियो । महोत्सवमा मंगलबार लोक गायक पशुपति शर्मा, लोक गायिका ज्योति मगरसहित मनोज गोर्खाली, ध्रुव विस्को, केको सिङ लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ । 
प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहँदै आएको महोत्सवमा दैनिक दर्शकको उपस्थिति बढ्दै गएकाे आयोजकले जनाएकाे छ । पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा २६० वटा विभिन्न स्टल रहेको छ । महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटो मोबाइलका साथै बाल उद्यानलगायत राखिएको छ । महोत्सवबाट खेलकुद विकास समितिलाई प्राप्त हुने रकमबाट वर्षभर खेलकुद प्रतियोगिता आयोजना गर्ने आयोजकले लक्ष्य राखेको छ । महोत्सवबाट मकवानपुर जिल्ला खेलकुद विकास समितिले करिब २५ लाख रुपैयाँ प्राप्त गर्ने बताइएकाे छ ।




