भरतपुर, ९ पुस ।
भरतपुर महानगरपालिकाका १४४ जना स्काउट विद्यार्थीहरु दीक्षित भएका छन् ।
आइतवार भरतपुर -६ चोकबजारस्थित पारिजात ईङ्ग्लिस बोर्डिङ स्कुलद्वारा आयोजित शितकालीन क्याम्प तथा दीक्षान्त समारोहमा स्काउट विद्यार्थी दीक्षित भएका हुन् ।
विद्यालयका प्राचार्य एवं ट्रुप अध्यक्ष अरविन्द प्रताप राणाको अध्यक्षता रहेको सो कार्यक्रममा भरतपुर महानगरपालिकाका उप-प्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथिको रुपमा रहेका थिए ।
कार्यक्रममा भरतपुर-६ चोकबजारस्थित पारिजात ईङ्ग्लिस बोर्डिङ स्कुल, भरतपुर-१२ स्थित मोहन माध्यमिक विद्यालय र भरतपुर-९ स्थित स्टेप बाई स्टेप ईङ्ग्लिस बोर्डिङ स्कुलका स्काउट विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले समृद्ध समाज निर्माणमा स्काउट भाइबहिनिहरुको महत्त्वपूर्ण भुमिका रहँदै आएको बताए । उनले स्काउटिङ्गको अभियानमा महानगर सदैव सकारात्मक रहेको बताए ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा भरतपुर महानगरका शिक्षा शाखा प्रमुख महेन्द्रप्रसाद पौड्याल रहेका थिए । त्यस्तै अतिथिको रुपमा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक एवं संचारकर्मी सन्तोष बस्ताकोटी, सहायक राष्ट्रिय प्रशिक्षक शिवप्रसाद बराल, स्काउटर ईश्वर गुरुङ्ग, गणेश थापा, अशोक ढकाल, शिक्षक कृष्ण भट्ट, सरस्वती भण्डारी, विद्यालय संचालक समितिका अध्यक्ष बिष्णु तिवारीलगायत रहेका थिए ।
कार्यक्रममा स्काउटर उपेन्द्र घिमिरे र सरस्वती भण्डारीले स्काउट विद्यार्थीलाई दीक्षित गराएका थिए ।
एक रात दुई दिनको सो कार्यक्रममा स्काउट विद्यार्थीहरुका लागि नेपाल स्काउटको ईतिहास, लर्ड बेडेन पावेल, लेडि बेडेन पावेलको जीवनी र संघर्ष, गाँठो सम्वन्धी ज्ञान साथै क्याम्प फायरको अर्थ, व्यवस्थापन र नियम सम्बन्धी जानकारी मुलक कक्षा संचालन भएको थियो ।
त्यस्तै सोही कार्यक्रममा साँस्कृतिक कार्यक्रम साथै क्याम्प फायर, धर्मसभालगायतका स्काउटिङ गतिविधिहरु संचालन भएको थियो ।
सो कार्यक्रमलाई चितवन स्मार्ट स्काउट क्र्युले सहजीकरण गरेको थियो । कार्यक्रम विद्यालयका स्काउट मास्तर उपेन्द्र घिमिरेले संचालन गरेका थिए ।





