भरतपुर, ९ पुस ।
स्रस्टा पारसमणि दाहालको `मिठु´ उपन्यासमाथि अन्तरसंवाद गरिएको छ । सम्पूर्ण किताब नारायणगढले सोमबार आयोजना गरेको कार्यक्रममा लेखकको उपस्थितिमा विमर्श एवम् छलफल गरेको हो ।
छलफल कार्यक्रममा उदय अधिकारी र मिठु गौतमले पुस्तकको समीक्षात्मक टिप्पणी राखेका थिए । मिठु उपन्यासमा नेपालको पूर्वी पहाडबाट कामको सिलसिलामा भारतको पूर्वोत्तर क्षेत्रमा कामका लागि गएका नेपाली दाजुभाइको कथालाई मार्मिक ढंगले उतारिएको छ । `त्यहाँ पुगेर कामको लागि भौंतारिनु पर्ने, काम पाइसके पनि त्यसका छट्पटी र दु:खलगायतका प्रसङ्ग किताबमा छन् ।´, उदय अधिकारीले भने – `सामान्य परिवारको नेपाली दाजुभाइले प्रवासमा गरेको दु:खलाई लेखकले उपन्यासमा राम्रोसँग उतारेका छन् ।´ 
अर्की वक्ता मिठु गौतमले उपन्यासको मुल पात्र मिठुको पारिवारिक संघर्षको कथा उपन्यासमा आएको बताइन् । कामका लागि लाहुर गएको श्रीमान नफर्केपछि बाटो हेर्दै बसेकी मिठुले छोरालाई पनि बाउकै बाटोमा जान नदिएको प्रसङ्ग बेजोड ढंगले उपन्यासमा प्रस्तुत भएको गौतमले बताइन् ।
स्वदेश प्रकाशनबाट सार्वजनिक मिठु उपन्यासको मूल्य ३५० रुपैयाँ छ । लेखक दाहाल पेशाले शिक्षाकर्मी हुन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन)का महासचिव दाहालको यसअघि `ग्वाङ´ उपन्यास २०७८ प्रकाशित छ ।





