बालविवाह विरुद्ध सचेतनामुलक कार्यक्रम

कावासोती, ४ पुस ।
बालविवाह न्यूनीकरणका लागि कावासोतीमा सचेतनामुलक कार्यक्रम गरिएको छ । बालविवाह न्यूनीकरणका लागि क्यानलानको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना तथा कावासोती वडा नम्बर-४, सामुदायिक सेवा केन्द्र नवलपुर र नवलपुर किशोरी संजालको सहकार्यमा सरस्वती नमूना माध्यमिक विद्यालयमा कार्यक्रम गरिएको हो । बालविवाहका कारण हुने शारीरिक, सामाजिक, मानसिक, आर्थिक, शैक्षिक लगायतका असर न्यूनीकरणका लागि बालविवाह विरुद्धको सचेतनामुलक कार्यक्रम गरिएको संस्थाका महासचिव दीपक शर्माले बताए ।

विद्यालय तहमा अध्ययन गरिरहेका कतिपय किशोरकिशोरी उमेर नपुग्दै विवाह बन्धनमा बाँधिने गरेको पाइएपछि सरोकारवालाहरुको अनुरोधमा सचेतनामुलक कार्यक्रम गरिएको आयोजकले जनाएको छ । विभिन्न कारणले बाबुआमाविहिन बनेका, परिवारमा बढि स्वतन्त्रता पाएका वा बढि कडाई गरिएका, मोबाईलको दुरुपयोग, अभिभावक सोझो हुनु, पढाईमा कमजोर हुनु, परीक्षामा अनुत्तीर्ण हुनुलगायतका कारण किशोरकिशोरीले चाँडो विवाह गर्ने गरेको अध्ययनले देखाएको छ ।

सचेतनामुलक कार्यक्रममा बालवालिकाको हकहित तथा अधिकार, बाल विवाहका कारण महिला तथा बच्चाको स्वास्थ्यमा पर्ने शारीरिक असर, प्रजनन स्वास्थ्य, बालविवाहका कानूनी सजायलगायतका विषयमा जिल्ला प्रहरी कार्यालय नवलपुरका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेलका प्रमुख बिन्दु बिकले सहजीकरण गरेकी थिइन् । उनले बालविवाहका नकारात्मक असरका विषयमा जानकारी दिँदै बालविवाह रोक्नमा सबैले हातेमालो गर्नुपर्ने बताएकी थिइन् ।

सरस्वती नमूना माध्यमिक विद्यालयको रेडक्रस क्लबका अध्यक्ष पूजा बिकको अध्यक्षता भएको कार्यक्रममा कावासोती वडा नम्बर- ४ का वडा सदस्य चन्द्रकला बस्यालको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी कावासोती- ४ का वडा सदस्य डिल्लीराम महतो, प्रधानाध्यापक विष्णुप्रसाद न्यौपाने, शिक्षकहरु, आयोजक संस्थाका प्रतिनिधिलगायत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सरस्वती नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद न्यौपानेले विद्यार्थीहरुका लागि सचेतनामुलक कार्यक्रमबाट सिकेका सकारात्मक कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए । बालविवाहका घटनाहरु न्यूनीकरणमा विद्यार्थीहरुको महत्त्वपूर्ण भूमिका हुने बताउँदै सचेतनाका अभियानहरुलाई घरघरमा पुर्‍याउन उनले विद्यार्थीहरुलाई सुझाव दिए ।

कावासोती- ४ का वडा सदस्य चन्द्रकला बस्यालले कार्यक्रम पश्चात बालबालिकाहरुमार्फत समुदायमा अभियान संचालन गर्न सहज हुने बताइन् । कावासोती- ४ मा बालविवाहका घटनाहरु बढ्न थालेपछी संस्थालाई कार्यक्रम संचालनका लागि अनुरोध गरेको र सो अनुसार कार्यक्रम संचालन गरेकोमा आयोजक संस्थालाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट