भरतपुर, ४ पुस ।
चितवनका प्रतिष्ठित युवा उद्यमी अमर घिमिरे युवाहरुको राष्ट्रिय संगठन नेपाल जेसीजको उपाध्यक्षमा निर्वाचित भएका छन् । नारायणगढ जेसीजका पूर्वअध्यक्षसमेत रहेका उनी नेपाल जेसीजको वर्ष २०२४ का लागि उपाध्यक्षमा निर्वाचित भएका हुन् । कुल १२ जना उपाध्यक्षमध्य घिमिरेले सर्वाधिक ९६१ मत प्राप्त गरेका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर-२ नारायणगढ निवासी युवा उद्यमी घिमिरे उम्दा ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक हुन् ।
फर्निचर तथा फलाम सम्बन्धि काम गर्ने यस कम्पनीले शिक्षा तथा पर्यटनमा पनि लगानी गरेको छ । ३४ वर्षीय घिमिरे युवा उद्यमी मञ्च बागमती प्रदेशका संस्थापक अध्यक्ष हुन् । व्यवसायसँगै घिमिरे विभिन्न सामाजिक सेवाका क्षेत्रमा पनि सक्रिय छन् ।
आइतबार बुटवलमा सम्पन्न नेपाल जेसीजको ५०औं राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२४ का लागि नुवाकोट जेसीजका रविन पोख्रेल ५१० मत सहित नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत प्राप्त गरिन् ।
नेपाल जेसीजको विधान अनुसार एक अध्यक्ष, चार कार्यकारीणी उपाध्यक्ष, १२ जना उपाध्यक्षको निर्वाचन गर्ने व्यवस्था रहेको छ । महाधिवेशनबाट कार्यकारीणी उपाध्यक्षमा अनुप सुनुवार ६८१ मत, राजाराम गौतम ६७२ मत र भीमवहादुर कुँवर राजु ६७० मतका साथ विजय भएका छन् । यस्तै १२ जना उपाध्यक्षहरुमा अमर घिमिरे ९६१, सौरभ श्रेष्ठ ९२४, राजन शर्मा पौडेल ८९३, सीताकुमारी भण्डारी ८८२, एलिना महर्जन ८४८, बहादुर तामाङ्ग ७७७, सपना पौडेल भण्डारी ७७२, योगेश राजवंशी ७४४, घनश्याम चौधरी ७०९, नवराज उपाध्याय ७०९, गणेश सापकोटा ७०८, प्रमोद उप्रेती आयुस ६३९ मतका साथ विजयी भएको निर्वाचन आयुक्त नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सुरेन्द्र कुमार महतोले जानकारी दिए ।
यस्तै नेपाल जेसीजको महासचिवमा सरोज अधिकारी, कानूनी सल्लाहाकारमा नरेशचन्द्र ओझा र कोषाध्यक्षमा खेमराज थापालाई मनोनित गरिएको छ ।




