भरतपुर, १ पुस ।
भरतपुरको कल्याणपुरस्थित स्मल हेभन स्कुलमा जारी नवौं अन्तर विद्यालय एथ्लेटिक्स मिटमा सिद्धि विनायक प्रथम भएको छ । तीन दिनसम्म चलेको प्रतियोगितामा ६० अंक प्राप्त गर्दै सिद्धिविनायकले प्रथम स्थान हासिल गरेको हो ।
सिद्धिविनायकले ६ स्वर्णसहित कुल १० पदक जित्यो । सिद्धिविनायकका लागि पुरुष ३ किलो मिटर र १५ सय मिटर दौडमा सुनिल विक एक्लैले २ स्वर्ण जिते । ८ सय मिटरमा अभिषेक विक, महिला ८ सय मिटरमा आयुशा परियार र ट्रिपल जम्प पुरुषमा उज्ज्वल भुषालले स्वर्ण जितेका छन् । सिद्धिविनायकले चार गुणा चार रिलेमा पनि एक स्वर्ण हात पार्न सफल भयो । सिद्धिविनायकले ३ रजत र एक कास्य पनि जितेको छ ।
४६ अंक प्राप्त गरेको स्मल हेभन दोस्रो भएको छ । स्मल हेभन दुई स्वर्णसहित १२ पदक जित्न सफल भयो । स्मल हेभनले चार गुणा सय रिले पुरुष र महिला बास्केट बलमा स्वर्ण हात पा¥यो । स्मल हेभनले थप चार रजत र ६ कास्य जित्यो ।
३९ अंक पाएको मिलन ईँग्लिस बोर्डिङ स्कुल तेस्रो भएको छ । मिलन स्कुलले ४ स्वर्ण, १ रजत र १ कास्य पदक जित्यो । उसका लागि सलिस्मा ढकाल एक्लैले ३ स्वर्ण जितेकी छन् । सलिस्माले महिला २ सय र ४ सय मिटर दौड तथा ट्रिपल जम्पमा गरी चार स्वर्ण जितिन् । यस्तै महिला १५ सय मिटरमा अमिशा पौडेलले पनि स्वर्ण पदक जितेकी छन् ।
सिद्धि विनायकका सुनिल विक उत्कृष्ट पुरुष खेलाडी बन्दा मिलन स्कुलकी सलिश्मा ढकाल उत्कृष्ट महिला खेलाडी बनिन् । लिटल फ्लावरकी दिया गुरुङ उत्कृष्ट कबड्डी खेलाडी भइन् भने स्मल हेभनकी आहाना लामा उत्कृष्ट बास्केटबल खेलाडी घोषित भइन् । लिटल फ्लावर उत्कृष्ट मार्च पास स्कुल बन्दा स्काई राइडर अनुशासित स्कुल बन्यो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेल, स्कुलका प्राचार्य रामचन्द्र न्यौपानेले पुरस्कार वितरण गरे । स्मल हेभनको आयोजनामा भएको प्रतियोगितामा ३८ विद्यालय सहभागी थिए ।





