मकवानपुर, २ पुस ।
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सुशासन, समृद्धि र सामाजिक न्यायकाे एजेन्डा सहित सरकार अघि बढिरहेकाे बताएका छन् ।
‘प्रतिष्पर्धामा चलेको समय छ ।’ प्रेस सेन्टर नेपाल मकवानपुरले सोमबार हेटौंडामा गरेको पत्रकार भेटघाटमा बोल्दै उपमहासचिव पुनले भने – ‘हरेक कुरामा प्रतिष्पर्धा नगरी कल्याणकारी राज्यकाे परिकल्पनाका साथ अघि बढ्नुपर्छ ।’
उनले सरकार गठन भएकाे पुस १० गते एकवर्ष पुग्ने भएकोले समीक्षात्मक छलफल गर्न जरुरी रहेको बताए । पहिलो चौमासिकमा सरकारको काम सुस्त देखिनु स्वभाविक रहेको बताउँदै उनले भने – `आगामी चौमासिकमा सरकारले गति लिनेछ ।´
विश्वव्यापीआर्थिक मन्दिको बेला नेपाल अछुतो रहन नसक्ने भन्दै पुनले नेपाललाई श्रीलंका बन्न नदिन मुलुकलाई लयवद्ध अर्थतन्त्रमा पुन फर्कनेमा सरकार ढुक्क भएको बताए । ‘जग्गाकाे कित्ताकाट खुलेपछि पछिल्लाे समय आर्थिक क्रियाकलाप चलायमान हुन थालेको छ, अबकाे बजेट तथा नीतिमा मध्यकालीन समस्यामा फाेकस गर्नुपर्छ ।’ उनले भने ।
एक अर्को प्रसङ्गमा उपमहासचिव पुनले २०६४ सालमा संविधान बनाउन नसकेर संसद विगठन गर्नु नै माओवादी पार्टी ओरालो लाग्नुको प्रमुख कारण भएको बताए । त्यसयता पार्टीमा आएको टुटफुटले समस्या निम्त्याएको बताउँदै उनले माओवादी कमब्याकको चरणमा रहेको बताए । ‘हामीले संविधान बनाउन सकेनौँ, सेटब्याक भो , त्यसपछि टुटफुट भो’ उनले भने, एक पटक झरेपछी कमब्याक गर्न समय लाग्छ, तर हामी उठछौँ । नेकपा एमाले पार्टी २०५१ मा फुटेपछी पहिलो पार्टी बन्न १९ वर्ष लागेको बताउँदै पुनले माओवादी पनि त्यही लाइनमा रहेको बताए ।
जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तरगत नगरस्तरीय स्कुलिङ कार्यक्रममा प्रशिक्षण दिन पुन हेटौंडा आएका हुन् ।
प्रशिक्षण कार्यक्रममा उपमहासचिव अनन्तले कम्युनिष्ट आन्दोलनको इतिहास र कार्यदिशा, माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सरकारका मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार डिपी ढकालले राजनीतिक अर्थशास्त्र, केन्द्रीय सदस्य एवं विद्यार्थी नेता लेखनाथ न्यौपानेले वैज्ञानिक समाजवाद, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारको काम र पार्टीको अन्तरसम्बन्धबारे प्रशिक्षण दिएका छन् ।
नगरस्तरीय स्कुलिङ कार्यक्रममा नगर भित्रको जिल्ला समितिको सदस्य, नगर पार्टीको सम्पूर्ण पदाधिकारी तथा सदस्य, नगरको सम्पूर्ण सल्लाहकार, वडा समितिको पदाधिकारी सहित वडा सदस्य, जवस- मोर्चाको पदाधिकारीहरुको सहभागिता रहेको नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटी सदस्य एवं हेटौंडा उपमहानगरपालिका समिति इन्चार्ज विवेक राईले जानकारी दिए ।





