रत्ननगर, ३० मंसिर ।
कथाकार विष्णुप्रसाद पाैडेल अपरिचितको `धन्य मेरा बा !´ लघुकथासङ्ग्रह सार्वजनिक भएको छ । टाँडीस्थित न्यू क्यापिटल कलेजमा शनिबार आयोजित कार्यक्रममा पौडेलको तेस्रो पुस्तक `धन्य मेरा बा !´ सार्वजनिक गरिएको हो । प्रमुख अतिथि कथाकारकी आमा शारदा पौडेलसहित साहित्यकार केशवराज आमोदी, लकाश पौडेल, धनराज गिरी, कृष्णप्रसाद सापकोटा, ईश्वरी ओझा, कार्यक्रमका सभापति भुपेन्द्र धिताल र प्रकाश चापागाईंले पुस्तक सार्वजनिक गरेका हुन् ।
पुस्तक सार्वजनिकपछि समालोचक केशवराज आमोदीले कृतिको समीक्षात्मक टिप्पणी राखेका थिए । पौडेलका कथाहरूले विविध सन्दर्भका संयोग, वियोग, प्राप्ति, अप्राप्तिजन्य घटना, परिघटना र दुर्घटनाहरूलाई चित्रण गरेको आमोदीले बताए । कतिपय कथाले यौन मनोविज्ञानसँगै राजनीतिक स्खलन, सामाजिक रीतिरिवाजका विचलन, लुटपाट, गरिबी, शोषण, विदेश पलायन, अन्धविश्वास र तस्करीलाई पनि समेटेकोले कथाहरूमा विविधता भएको उनलेे बताए ।
कार्यक्रममा अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभात, डाक्टर केशवराज चालिसे, डाक्टर एकनारायण पौड्याल, डाक्टर धनेश्वर भट्टराई, राजेन्द्र हमाल, प्रकाश चापागाईं, गजल मञ्च चितवनका अध्यक्ष लेखराम सापकोटा, कवि राजेन्द्र घायल, दुर्गा घिमिरेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
पौडेलका यसअघि `तरङ्ग जिन्दगीका´ हाइकूसङ्ग्रह (२०७६) र `पाँच रत्न एघार फूल´ समीक्षासङ्ग्रह (२०७८) प्रकाशित छन् । त्रिवेणी साहित्य प्रतिष्ठान नवलपरासीले प्रकाशन गरेको यस कृतिमा ५४ वटा कथा छन् । पुस्तकको मूल्य ३२५ छ । कृतिलाई सम्पूर्ण किताब नारायणगढले वितरणको जिम्मेवारी लिएको छ ।




