भरतपुर, ३० मंसिर ।
अङ्कुरम् एकेडेमीमा गणित शिक्षा परियोजनाअन्तर्गत वृहत् प्रदर्शनी सम्पन्न भएको छ । कक्षा १ देखि १० सम्म अध्ययनरत ६२७ जना विद्यार्थीहरुको सहभागितामा सम्पन्न उक्त वृहत् प्रदर्शनीको मुख्य उद्देश्य विद्यार्थीहरुलाई गणितीय ज्ञान दिनु रहेको सह-प्राचार्य ओमराज मैनालीले बताए । `गणित ‘डर’ होइन, गणित ‘गर’ हो । अर्थात्, गणित ‘सिक्दै रमाउँदै वा रमाउँदै सिक्दै’ गरिने जीवनपर्यन्त प्रयोगमा आउने शिक्षा हो ।´ मैनालीले भने ।
यस प्रदर्शनी अन्तर्गत विद्यार्थीहरुले गणित सम्बन्धी १५२ किसिमका प्रोजेक्टहरु तयार गरेका थिए।
विशुद्ध गणित विषयसँग सम्बन्धित आकर्षक र ज्ञानवर्धक प्रोजेक्टले कार्यक्रमको रौनकता थपेको थियो।
करीब ४०० अभिभावकद्वारा अभिरुचिपूर्वक अवलोकन गरी विद्यार्थीहरुलाई हौसला प्रदान गरिएको उक्त प्रदर्शनीमा भरतपुर महानगरपालिका अवस्थित विभिन्न विद्यालयका शिक्षक एवं विद्यार्थीहरुले समेत उल्लेख्य रुपमा सहभागी भई अवलोकन गरेका थिए ।
अङ्कुरम् एकेडेमीले पाठ्यक्रम अनुरुप कृयाकलापमा आधारित शिक्षण-सिकाइ गराउने भएकोले विद्यालयको वार्षिक क्यालेण्डरमा उल्लेख गरी यस्ता किसिमका विषयगत परियोजनाहरु सम्पन्न गर्ने गरिएको सह-प्राचार्य ओमराज मैनालीले बताए ।





