मकवानपुर, ३० मंसिर ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौँडास्थित मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) को मुख्य कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । शनिबार प्रधानमन्त्री प्रचण्डले सो भवनको उद्घाटन गरेका हुन् ।
करिब १४ करोड रुपैयाँ लागतमा निर्मित आश्रमको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले मानवीय सेवा मानव जीवनको सर्वोच्च काम भएको बताएका छन् । “मानवताको निम्ति पीडितहरूको निम्ति सेवा गर्नुभन्दा ठूलो धर्म केही पनि छैन” उनले भने “हाम्रो परम्परा हाम्रो संस्कृति हाम्रो प्रचलन पनि मन्दिरमा जाने भेटी चढाउने चलन छ, दानभन्दा ठूलो धर्म अरु केही छैन ।”
सहयोगापेक्षी सडक मानव मुक्त प्रदेशको अभियानमा प्रदेश सरकार नै लागेको बेला यो आश्रमको काम उच्च रहेको उनले बताए । उनले भने “मैले यसबारे सहयोग गर्ने बचन राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नै घोषणा गरेको थिएँ, म सहयोग गर्न तत्पर छु ।´´
आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले विभिन्न कारणबाट सडकपेटी र सार्वजनिक स्थलहरुमा जीवन विताउन बाध्य भएका अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, सडकआश्रित मानवहरुको उद्दार, परामर्श, औषधोपचार एवम् पारिवारिक पुनर्मिलन गराउँदै आएको जानकारी दिए । ‘हामीले साप्ताहिक रुपमा सडक अवलोकन, सहयोगापेक्षीहरुको खोजी, उद्धार, संरक्षण र पारिवारीक पुनर्मिलन कार्य गरीरहेका छौँ’, अध्यक्ष अधिकारीले भने – `स्वास्थ्य शिविर संचालन र बालबालिकाहरुका लागि आश्रम भित्रै अतिरिक्त क्रियाकलापहरु समयसमयमा गर्ने गरेका छाैं ।´
२०६९ साल भदौ १३ गते मकवानपुरकाे हेटौंडामा स्थापना भइ शुभारम्भ भएको मानवसेवा आश्रमकाे सेवा ७ प्रदेशको विभिन्न १९ वटा जिल्लाका २४ वटा सेवा केन्द्रमार्फत सञ्चालनमा छन् । बागमती प्रदेशमा ६ वटा, गण्डकी प्रदेशमा ५ वटा, लुम्बिनी प्रदेशमा ४ वटा, मधेश प्रदेशमा ३ वटा, कोशी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एउटा मानवसेवा आश्रम रहेको छ ।
मानवसेवा आश्रम हेटौंडामा २१ जना बालबालिका, ७६ जना महिला र १०७ जना पुरुष गरी २०४ जना आश्रित रहेका छन् । हालसम्म आश्रमले १ हजार ५ सय ८१ जनाको उद्दार गरेकोमा ८ सय ३६ जनाको पारिवारिक पुनर्मिलन भएको, १ सय ८४ जनाको शरीर शान्त, ४ सय २० जनाले स्वेच्छाले आश्रम छोडेको, ५१ जनाको सामुदायिक पुनर्मिलन गरेको र ३४ जनाको पुनउद्दार गरेको छ ।





