भरतपुर, ३० मंसिर ।
नेपाल विद्युतीय व्यवसायी महासंघ वाग्मती प्रदेश समितिले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जाजरकोटका भुकम्प पीडितलाई विद्युतीय न्यानो सामाग्री प्रदान गरेको छ ।
नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देबकोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भेरी नगरपालिका वडा नम्बर १ कोल्चौर टोलका ६० घर परिवार र वडा नम्बर ४ का ४० घरधुरी भुकम्प पीडितलाई न्यानो विद्युतीय सामग्री इलेक्ट्रीकल हिटर, गिजर, कित्लीलगायत झण्डै दुई लाख बराबरको राहत बितरण गरिएको बाग्मती प्रदेश संयोजक सरोज कुमार रेग्मीले बताए ।
स्थानीय जनप्रतिनिधिको रोहवरमा गरिएको कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले राहत सामग्री हस्तान्तरण गर्दै भूकम्पले जाजरकोट र रुकुमपश्चिमका जनतालाई ठूलो जनधनको क्षति बेहोर्न परेकाले महासंघसँग आवद्ध प्रदेश, जिल्ला र नगरसंघले आफ्नो मानवीय धर्मअनुसार पीडितलाई सहयोग गर्न आग्रह गरे ।
उक्त राहत वितरण कार्यक्रमका लागि महासंघ बागमती प्रदेश र प्रदेशमा रहेका काठमाडौं विद्युतीय व्यवसायी संघ, विद्युत व्यवसायी संघ-चितवन, पूर्वी चितवन विद्युत व्यवसायी संघ, ललितपुर इलेक्ट्रिकल एसोसिएशन, मकवानपुर विद्युतीय व्यवसायी संघबाट उक्त राहत सामग्रीहरु संकलन भएको थियो । राहत वितरण कार्यक्रममा नेपालगन्ज इलेक्ट्रिकल एसोसिएशनका उपाध्यक्ष दामोदर सापकोटालगायतको उपस्थिति रहेको थियो ।





