माडी, २५ मंसिर ।
राप्रपा उपाध्यक्ष एवम् माडी क्षेत्र समेट्ने चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य विक्रम पाण्डेले माडी क्षेत्रको विकास गरी माडीलाई सुनको थाली बनाउन चाहेको बताएका छन् ।
माडीको बैकुण्ठे मेलामा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै पाण्डेले भने – ‘माडीलाई विश्वको सबैभन्दा राम्रो बनाउने भनी हिँडेको हुँदा जबसम्म माडीको राम्रो विकास हुँदैन तबसम्म राजनीतिबाट विश्राम लिन्न ।´ माडीको विकासका लागि यहाँका जनतालाई साथमा लिएर अगाडि बढ्ने उनले बताए ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहेका पाण्डेले माडी क्षेत्र ऋषिमुनिहरु एवम् भगवान राम बसेको ठाउँ भए पनि दानवरूपी व्यक्तिहरूले धर्म संस्कृतिलाई उजाडेको टिप्पणी गरे । ‘एउटै पार्टीको मानिस माथिदेखि तलसम्म रहँदा पनि जनताको पक्षमा कुनै काम नभएको उनले आरोप लगाए ।
‘भ्रष्टचारले देश टाट पल्टिसकेको र विकास निर्माणको काम सबै बन्द भएको भन्दै उनले सरकारले गत वर्षको पनि पैसा दिन नसकेको उल्लेख गरे । आफूले धेरै भाषण गर्न नचाहेको टिप्पणी गर्दै उनले गरिब जनताले तिरेको कर ८८४ जना सांसद र १३५ मन्त्रीको व्यवस्थापन गर्दैमा सकिएको कटाक्ष समेत गरे ।





