भरतपुर, २४ मंसिर ।
हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औं वार्षिक साधारणसभा अन्तर्गत जीतपुर सेवाकेन्द्रका सेयर सदस्यहरुको सभा सम्पन्न भएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर- २८ का वडाध्यक्ष डण्डपाणि रिजालको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतामा आइतबार भरतपुर-२८, जीतपुर, मेघौलीस्थित संस्थाको आफ्नै सभाहलमा साधारणसभा सम्पन्न भएको हो ।
संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई सचिव शारदा शर्मा पौडेलले संचालन गरेकी थिइन् । साधारणसभामा गोलाघाट पर्यटन विकास समिति, चितवनका अध्यक्ष विशाल कुमाल, जीतपुर बजार व्यवस्थापन समितिका अध्यक्ष सन्दिप गदाल, होटल व्यवसायी संघ मेघौली इकाइका अध्यक्ष सन्देश चापागाई, समाजसेवी जयमंगल कुमाललगायतका व्यक्तित्वहरूले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक गोबिन्दप्रसाद पौडेलले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, सचिव शारदा शर्मा पौडेलले आर्थिक वर्ष २०७९/०८० को प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम एवं संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले वित्तीय प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा उत्कृष्ट बचत कारोवारतर्फ २ जना तथा ऋण कारोवारतर्फ २ जना सदस्यलाई प्रसंशापत्रसहित सम्मान गरिएको थियो । साधारणसभामा सदस्यहरुले राखेको जिज्ञासा माथि संस्थाका प्रबन्धक नारायणप्रसाद सापकोटाले प्रकाश पारेका थिए ।





