मकवानपुर, २२ मंसिर ।
नेपाल चलचित्र संघले बागमती प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएकाे छ । संघले बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठलाई मनोरञ्जन कर समायोजन सम्बन्धी ज्ञापनपत्र बुझाएकाे हाे ।
शुक्रबार मन्त्रालयमा संघका महासचिव नरेन्द्र महर्जन, निर्माता तथा कलाकार दीपकराज गिरी, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायत चलचित्रकर्मीहरुले मन्त्री श्रेष्ठलाई पत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउँदै महासचिव महर्जनले चलचित्र क्षेत्रले संघीय सरकारलाई १५ प्रतिशत चलचित्र विकास शुल्क, प्रदेश सरकारलाई ५ प्रतिशत मनोरञ्जन कर र त्यसपछि १३ प्रतिशत मुल्य अभिवृद्धि कर गरी ३३ प्रतिशत भन्दा बढी करहरु बुझाउनुपर्ने बाध्यता रहेको बताए ।
ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले प्रदेश सरकारसँग त्यति धेरै अधिकार नभएपनि अधिकारभित्र रहेका विषयलाई आवश्यक सम्बोधन गरिने संघका पदाधिकारीलाई जानकारी गराएका थिए । हामीले चलचित्र सम्बन्धी विधेयकको ड्राफ्ट तयारी गर्दै गरिरहको अवस्थामा अहिले तत्काल कानुन बनाएर कार्यान्वयन गर्न तयारीमा रहेको उनले बताए । उनले आगामी आर्थिक वर्ष विधेयक नै तयार पारी कार्यान्वयनमा ल्याउने बताएका थिए ।
हल सञ्चालन, नियमन र अनुगमनको क्षेत्राधिकार पनि हामीलाई नै रहेकाले विधेयक निर्माण पछि सहजता हुने बताए । मन्त्रीले श्रेष्ठले करको विषयमा भने मन्त्रालयले भन्दापनि यस विषयलाई संसदमा पेश गरी आवश्यक प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कोशी प्रदेशमा पनि प्रदेशको ५ प्रतिशत करमा समायोजन गरी नेपाली चलचित्रको १.५ प्रतिशत र विदेशी चलचित्रको ३ प्रतिशत कायम गरेको कलाकार एवं निर्माता दीपकराज गिरीले बताए । कला संस्कृति जर्गेना गर्ने माध्यम रहेको चलचित्र उद्योगलाई तीनतहकै सरकारको साथ सहयोग आवश्यक रहेको बताउँदै कलाकार गिरीले अन्य उद्योग जस्तो सरकारले चलचित्र उद्योगलाई हेर्ने दृष्टिकोण फरक रहेको बताए ।
चलचित्रकर्मीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव घनश्याम उपाध्यायलाई समेत ज्ञापनपत्र बुझाएका थिए । पत्र बुझ्दै प्रमुख सचिव उपाध्यायले चलचित्र प्रबर्द्धन र समग्र विकासमा प्रदेश सरकारको साथ रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जन, कलाकार दीपकराज गिरी, कलाकार एंव निर्देशक दीपाश्री निरौला, प्रदेश सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटा, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, कलाकार निर्मल शर्मा गैंडा, राज कटुवाल, सुमन गिरी, ध्रुव न्यौपाने, सुशान्तकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।





