भरतपुर, १९ मंसिर ।
भरतपुर महानगरपालिका भित्र कार्यरत स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको छ । २०औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०८० को अवसरमा महानगर भित्र रहेका २०७ जना स्वयंसेविकाहरुलाई नगद सहित सम्मान गरिएको हो ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले उनीहरुलाई सम्मान गरेका हुन् । प्रदेश सरकारले प्रदेश भरी नै कार्यरत स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत महानगरका स्वयंसेविकाहरुलाई सम्मान गरिएको उनले बताए ।
उनले भने – “स्वास्थ्य क्षेत्रको तल्लो तहका मेरुदण्डको रुपमा स्वयंसेविका रहेका छन् ।” स्वास्थ्य सेवाको पहिलो आधार स्वयंसेविकाले मात्रै पूरा गर्न सक्ने उनको भनाई थियो । समाजमा पर्याप्त अस्पतालहरु नहुँदा स्थानीय स्वास्थ्यकर्मीको रुपमा सेवा पुर्याउँदै आएका स्वयंसेविका स्वास्थ्य क्षेत्रको विकासका लागि कोशेढुङ्गाको रुपमा रहेको उनले बताए । सिमित स्रोत र साधनमा काम गर्दा पनि जनतालाई सेवा दिन नछोड्नु स्वयंसेविकाको मुख्य धर्म रहेको उनले वताए । उनले भने “स्वयंसेविकाको दुःख सम्झेर हौसला प्रदान गर्नका लागि सम्मान गरिएको हो ।´´
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कृष्णप्रसाद सिलवाल र ईश्वर सापकोटाले सेवा गर्दा आवश्यक सामग्रीहरुको व्यवस्था राज्यले गर्नुपर्ने बताए । काम गर्ने समयमा सुरक्षाका सामग्री र आवश्यक तालिमको व्यवस्था गरिनुपर्ने उनीहरुको भनाई थियो ।
स्वयंसेविकाहरुले उठाएको जायज मागलाई राज्यले संवेदनशील भएर सम्बोधन गर्नुपर्ने उनीहरुको तर्क थियो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाले हरेक वर्ष ६० वर्ष नाघेका स्वयंसेविकाहरुलाई नगद रु ५० हजार सहित सम्मान गर्ने गरेको बताए । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेती, भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका प्रमुख शान्ताकुमारी पौडेल, भरतपुर महानगरपालिका जनस्वास्थ्य प्रबर्द्धन शाखाका प्रमुख दीपक सुवेदी, स्वयंसेविकाको तर्फबाट शुभद्रा श्रेष्ठलगायतले बोलेका थिए । प्रदेश सरकारले प्रदेश भरीका ११९ वटा स्थानीय तहहरुमा आज सबै स्वयंसेविकाहरुलाई सम्मान गरेको छ । जिल्लामा ४६१ जना स्वयंसेविकाहरुलाई सम्मान गरेको हो ।





