भरतपुर, १९ मंसिर ।
कोरोनाकालमा सबै क्षेत्र बन्द हुँदा व्यापार व्यवसाय पनि ठप्प भए । कोरोना सकिएपपछिको बजार र व्यवसाय पनि थप चौपट भएको भन्दै भाडा छूट गराइदिन सम्बन्धित घरधनीहरुलाई नेपाल घर बहाल उपभोक्ता अधिकार मञ्च चितवनले अपिल गरेको छ । कोरोनाकाल सकिएसँगै पुलचोक–गोन्द्राङ सडक विस्तार र आँपटारी–बसपार्क (बाइपास) सडकको स्तरोन्नतिका कारण बजारको अवस्था झनै अस्तव्यस्त बन्दा त्यसबाट व्यापारीहरु ठूलो आर्थिक समस्यामा परेको मञ्चले जनाएको छ ।
यस्तो अवस्थामा घरधनीहरुले भाडा घटाई व्यवसायीको संरक्षण गरिदिन आवश्यक रहेको भन्दै कम्तीमा २० प्रतिशत छूट गरिदिन आग्रह गरेको हो । मञ्चले प्रेस विज्ञप्तिमार्फत बैंक तथा वित्तीय संस्थाहरुको चर्को व्याजदरले पनि व्यवसाय सङ्कटमा परेको भन्दै घरधनी र व्यवसायीबीचको सम्बन्ध सुमधुर बनाउन भाडा छूटमा सहजीकरण गरिदिन घरधनीहरुलाई अपिल गरेको हो ।
सोचेजस्तो व्यापार नहुँदा घरभाडा बुझाउन नसकिने अवस्थामा आइपुगेको भन्दै व्यवसायीको तर्फबाट नेपाल घर बहाल उपभोक्ता अधिकार मञ्च, व्यवसायीहरुको छाता संस्था उद्योग वाणिज्य संघलगायतका सरोकारवाला निकायमार्फत गरिएको अनुरोधअनुसार केही घरधनीले २० प्रतिशतका दरले भाडा छूट गराएको थियो । तर, सबै घरधनीले छूट नगराइदिँदा कतिपय व्यापारी अझै पनि भाडाकै कारण आर्थिक सङ्कट खेप्न बाध्य भएको मञ्चका अध्यक्ष जनकलाल कट्टेलले बताए ।
‘कतिपय घरधनीले भाडा बढाएको पनि पाएका छौँ, त्यसैले आर्थिक मन्दीले थला परिरहेको बेलामा घरधनीले पनि व्यवसायी जोगाउनतर्फ लाग्नुपर्ने देखिन्छ’, उनले भने, ‘हाम्रो मागअनुसार भाडा छूट गराएका घरधनीलाई मञ्चले पहिचान गरी धन्यवादसहित सम्मान गरिसकेको छ ।’
व्यवसायलाई कोरोनाकालभन्दा पहिलेकै अवस्थामा फर्काउनका लागि समय लाग्ने देखिएको हुँदा हाललाई कुनै पनि व्यापारीलाई आर्थिक भारमा नपार्नका लागि घरधनीहरुले सहयोग गर्नुपर्ने देखिएको मञ्चका महासचिव सुरेन्द्र केसीले बताए । यस्तो अवस्थामा घरधनीले भाडा छूट नगराए धेरै व्यापारीहरु पेसाबाटै पलायन हुने अवस्थामा आइपुगेको उनको भनाइ छ ।
‘घरधनीले घरभाडामा छूट गराइदिने हो भने पनि केही व्यवसायी पलायन हुनबाट जोगिन्थे’, महासचिव केसीले भने, ‘त्यसैले घरधनीले भाडा छूटमात्रै गराइदिने हो भने पनि थोरै राहत मिल्थ्यो ।’ भरतपुर महानगरपालिकाले भ्रमण वर्ष मनाउने तयारी गरिरहँदा मुख्य राजमार्ग विस्तारको काम अलपत्र बनेको छ । हेर्दा सडकको काम अलपत्र देखिए पनि त्यसको असर भने व्यवसायमा परेको बजारका व्यापारीहरुले बताउँदै आएका छन् ।
उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष शिरीष पन्तले भने अन्तिम उपभोक्ताको हातमा पैसा नहुँदा त्यसको प्रत्यक्ष असर व्यवसायमा देखिएको बताए । दसैँपछि केही सुधार होला भन्ने अपेक्षा गरेको बजारको अवस्था झनै दयनीय बन्दै गएको उनले बताए । ‘अन्तिम उपभोक्ताको हातमा पैसा आइपुग्यो भने बल्ल बजारमा चहलपहल हुने हो, व्यापारमा सुधार हुने हो । यतिबेला उपभोक्ताको हातमै पैसा नभएपछि फस्टाउनुपर्ने व्यापार खुम्चिएको हो’, उनले भने, ‘त्यसैले उपभोक्तासँग हुने क्रयशक्ति वृद्धि नभएसम्म व्यापारमा जोखिम जारी रहने देखिन्छ ।’
भरतपुर महानगरपालिकाले पूर्वी चितवनबाट आउने सार्वजनिक सवारीसाधनलाई बजार झर्न रोक लगाएको कारण पनि नारायणगढ बजारको व्यवसायमा असर परेको उनी बताउँछन् । ‘केही उपभोक्ताहरु बजारसम्म आइपुग्दैनन्’, उनले भने, ‘बसपार्कसम्म मात्रै आउने भएपछि सबै उपभोक्ता बजार झर्दैनन् । त्यसको असर पनि हो जस्तो लाग्छ ।’




