देवचुली, १९ मंसिर ।
नवलपरासी पूर्वको देवचुलीमा महिनावारी व्यवस्थापन तथा सेनेटरी प्याड निर्माण तालिम प्रदान गरिएको छ । वास नमूना गाउँ परियोजना (नापा वास) को आयोजनामा देवचुली नगरपालिका वडा नम्बर ५ भञ्ज्याङ् टोल र नीलपोखरी टोलका महिलाहरुलाई अमरज्योति सामुदायिक वनको सभाहलमा तालिमको आयोजना गरिएको हो ।
महिलाहरुलाई महिनावारीका समयमा हुने विभिन्न समस्या र समाधानका उपायहरू तथा बजारिया प्याडको सट्टामा घरमै प्याड बनाई प्रयोग गर्न उत्प्रेरित गर्नका लागि तालिमको आयोजना गरिएको परियोजना व्यवस्थापक प्रवीण घिमिरेले जानकारी दिए ।महिलाहरूलाई बजारिया प्याडहरु प्रयोग गर्दा विभिन्न रोगहरुको संक्रमित हुन सक्ने भएकाले घरमै प्याड निर्माण गरी प्रयोग गर्नका लागि सबैलाई आग्रह गरिएको उनले बताए ।
तालिममा महिनावारी सरसफाइ सम्बन्धि यानमाया गुरुङ तथा सेनेटरी प्याड निर्माणका लागि किशोरी अभियन्ता आशा बिक र सुमिना कुमालले सहजीकरण गरेका थिए ।
तालिममा देवचुली- ५ का कार्यवाहक वडा अध्यक्ष राधिका तिवारी, वडा सदस्य चन्द्रमाया बिक, नापा वासका प्राविधिक सनत ज्ञवाली, सरसफाइ सहजकर्ता लेसमाया सारु मगर सहित २ टोलका महिलाहरुको उपस्थिति रहेको थियो ।
नापा वासले देवचुली नगरपालिका वडा नम्बर ५ र ६ मा खानेपानी तथा सरसफाइ सम्बन्धि परियोजना संचालन गरिरहेको छ । सो परियोजना अन्तर्गत नापा वासले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।





