भरतपुर, १७ मंसिर ।
गैँडाकोट–९, थुम्सीबाट सेवा सुरू गरेको ‘पाते ढिँडो’ को पहिलो शाखाको रुपमा भरतपुरमा संचालित पाते ढिँडो एण्ड बिच रिसोर्ट प्रालिको उद्घाटन आइतबार भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनालले गरेका छन् ।
होटलको भित्तामा बनाइएको पाते (माइली छोरी) को चित्रलाई छोपिएको पर्दा उघारेर होटलको औपचारिक उद्घाटन गरिएको थियो । भरतपुर–१० का वडा अध्यक्ष खनालले पछिल्लो समय नेपाली युवा जनशक्ति विदेश जाने लहडमा लागिरहँदा केही थान युवालाई स्वदेशमै रोक्न सक्ने होटल व्यवसाय सञ्चालन गर्दा त्यसले समग्र देशलाई नै फाइदा पुग्ने बताए । 
उनले थुम्सीलाई पाते ढिँडोले नै परिचित गराएको बताउँदै आगामी दिनमा भरतपुरको सान भएर पाते ढिँडोले थप पहिचान फराकिलो बनाउनेमा विश्वास दिलाए । ‘बरू गुणस्तरमा कुनै कमि हुन नदिनु होला,’ सुझाव दिँदै वडाअध्यक्ष खनालले भने, ‘पछिल्लो समय अनुगमनका क्रममा सरसफाइ तथा गुणस्तरमा कमजोर पाएका छौँ । त्यस्तो नहोस् । ग्राहकले खोजेजस्तो सुविधा दिन सकोस् ।’
करिब दुई करोडको लगानीमा भरतपुर–१०, शिखरचोकमा सञ्चालनमा आएको उक्त होटलबाट ३५ जना युवालाई रोजगारी दिलाउन सकिने अध्यक्ष बृखलाल गुरूङले जानकारी दिए । पाते ढिँडोको सञ्चालनबाट कोदो, फापर, मकै, गहुँलगायतका रैथाने खाद्यबालीको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।





