मकवानपुर, १७ मंसिर ।
बागमती प्रदेशमा आइतबारकाे लागि बाेलाइएकाे सर्वदलीय बैठक निष्कर्षविहिन सकिएकाे छ । संसदीय सभापति चयनलगायतकाे लगायतका विषयमा छलफल गर्न बाेलाइएकाे प्रदेशको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको हाे ।
मुख्यमन्त्री जम्कट्टेलको सक्रियतामा प्रदेश सभामुखको सचिवालयले बोलाएको बैठकमा सहमति जुट्ने सम्भावना नदेखिए पछि मुख्यमन्त्री शालिकराम जम्कट्टेल नै बैठक कक्षबाट बाहिरिएका थिए । सरकार गैरजिम्मेवार बनेकाले कुनै सहमति नभएको प्रमुख प्रतिपक्ष नेकपा एमालेले आराेप लगाएकाे छ । मुख्यमन्त्रीले एनजीओ शैलीमा सरकार चलाउन खोज्दा समस्या भएको एमाले नेता जगन्नाथ थपलियाले बताए । उनले भने, ‘संविधानले दिएको अधिकारमा रहेर संसद्ले गरेका निर्णय विरुद्धका काम सरकारले गरिरहेको छ ।’
एकीकृत समाजवादी संसदीय दलको नेता कृष्ण खनालले सबैको कमजोरीका कारण बैठक निष्कर्षविहीन बनेको बताए । ‘सरकार र प्रतिपक्ष दुवै समस्या समाधान भन्दा पनि समस्या बढाउनेतिर केन्द्रित भए । पाउने र गुमाउने विषयमा मात्र छलफल भयो’, खनालले भने, ‘बजेट तैँले कति लिने मैले कति लिने भन्नेमा छलफल केन्द्रित भयो, संसदीय समितिका सभापति चयनबारे छलफल प्रवेश नै भएन ।’
गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आह्वान गरिएको थियाे । गत असारमा प्रदेश सभाबाट बजेट पारित गर्ने समयदेखि प्रदेश सरकार दबाबमा छ । मुख्यमन्त्री जम्कट्टेलले आर्थिक वर्ष २०८०-०८१ को बजेट पारित गर्दा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र प्रतिपक्ष दल राप्रपासँग गरेको सम्झौता कार्यान्वयनमा नआएकाे विषयले समस्या भएकाे हाे ।
प्रतिपक्ष दलहरूसँगको सम्झौताकै कारण बजेट पारित भएपछि पनि गत भदौ र असोज महिनामा बसेका प्रदेशसभा बैठकहरू समेत अवरुद्ध बनेको थियो । सम्झौता कार्यान्वयन नभएकाे भन्दै प्रतिपक्षदलले प्रदेश सभा पटक पटक अवरुद्ध गर्दै आएकाे छ । सरकार र प्रतिपक्ष दल बिचको आन्तरिक समस्या प्रदेशसभा बैठकमा प्रवेश भएपछि बैठक बस्न सकसपूर्ण हुँदै आएकाे छ ।





