सम्मानकै लागि भनेर त लेख्दिनँ, तर मलाई लेखेबापत सम्मान भने मिलेकै छ : साहित्यकार लाकोजू

नेपाली साहित्यका पाठकहरुलाई सूर्य लाकोजू चिनाइरहनु पर्ने नाम होइन । साहित्यका विविध विधामा सफलतापूर्वक कलम चलाइरहेका लाकोजू साहित्यकार मात्र नभएर साहित्यिक पत्रकार, सम्पादक, अनुसन्धाता एवम् सांस्कृतिक अध्येयता पनि हुन् । काभ्रे जिल्लाको पनौतीमा जन्मेर सोही भूमिलाई कर्मक्षेत्र बनाएका लाकोजू सोही स्थानमा बसेर साहित्यकको सिर्जना, साहित्यिक पत्रकारिता तथा साहित्यको सङ्गठनमा निरन्तर लागि परेका छन् । विविध विधाका डेढ दर्जज जति कृति प्रकाशित गराइसकेका उनीसँग हालै उनको निवासमा पुगेर विशेषतः सिर्जनाको वरिपरि रही उनीसँग ‘कायाकैरन’का लागि रमेश प्रभातले छोटो कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त वार्ताको सारसङ्क्षेप :

रमेश प्रभात : नमस्कार सूर्यजी, आराम हुनुहुन्छ ?
सूर्य लाकोजू : नमस्कार रमेशजी, आरामै छु त ।

रमेश प्रभात : अनि हजुरको दिनचर्या के कसरी बितिरहेको छ सूर्यजी ?
सूर्य लाकोजू : अचेल भर्खर दशैँ–तिहारजस्ता ठूला चाडपर्वहरु सकिएका छन् । हामी अक्षरकर्ममा लाग्नेहरु चाडपर्वमा पनि अक्षरकर्मबाट विमुख हुँदैनौँ । यसरी अक्षरकर्ममा लाग्न पाउँदा खुसी लागेको छ । हो रमेशजी, म यतिबेला पनि अक्षरकै कर्ममा लागेको छु ।

रमेश प्रभात : तपाईं साहित्यका अतिरिक्त समाजसेवामा पनि दत्तचित्तले लागिरहनु भएको छ । अनि साहित्य सिर्जनाका लागि समयचाहिँ कसरी मिलाउनुहुन्छ ?
सूर्य लाकोजू : मेरो विद्यालय पनि छ । बाँच्नका लागि केही त गर्नै पर्‍यो नि । त्यसैले पहिलो प्राथमिकता त विद्यालयलाई दिनै पर्‍यो । त्यति धेरै अभिभावकले उहाँहरुका बाबुनानी हाम्रो जिम्मामा दिएपछि उनीहरुको हेरविचारमा समय त दिनै पर्‍यो । विद्यालयबाट बचेको समय म मिलेसम्म साहित्यका लागि छुट्याउँछु । यसरी बचेको बिहान, बेलुका र रातको समय पनि म साहित्यका लागि भनेर छुट्याउँछु । यसभित्र साहित्यको सिर्जना, साहित्यको सङ्गठन र साहित्यिक पत्रकारिताका लागि भनेर समय मिलाउने गरेको छु रमेशजी ।

रमेश प्रभात : यहाँको दराजमा हेर्दा यहाँका प्रकाशित कृतिहरु त टन्नै देखिन्छन् । यति धेरै कृतिको रचना गर्ने समयचाहिँ कसरी मिलाउनु भयो हजुरले ?
सूर्य लाकोजू : रमेशजी, लेख्नुभन्दा अगाडि पढ्नु पनि पर्छ भन्ने मान्यता हो मेरो । नपढी के लेख्ने ? कसरी लेख्ने ? अन्योल हुन्छ । मेरो पुस्तक प्रकाशनको यात्रा वि.सं. २०५४ मा ‘भावना फूलहरु’ भन्ने मुक्तकसङ्ग्रहबाट भएको हो । अनि त्यसपछि कविताका किताबहरु पनि प्रकाशित भए । अनि नि रमेशजी, मेरो अनुभवमा सिर्जना भन्ने कुरा कस्तो हुँदो रहेछ भने म लेख्छु भनेर फटाफट लेखिहाल्न नसकिने रहेछ । कहिलेकाहीँ कक्षामा पढाउँदा पढाउँदै पनि केही कुराहरु फुरिहाल्दो रहेछ । त्यतिबेला टपक्क टिप्न सकिएन भने त्यो हराएर जाँदो रहेछ । राति सुतिसकेपछि पनि केही कुरा फुरिहाल्दो रहेछ । त्यसलाई सोही समयमा टिप्न सकिएन भने बिर्सिइँदो रहेछ । मेरो सवालमा दुई–चारवटा राम्रा–राम्रा मुक्तकहरु मैले सुतिसकेपछि रचना गरेको छु । निद्राबाट ब्युँझिएपछि गरिएका त्यस्ता केही मुक्तकको सन्दर्भ सुनाउँछु । लोडसेडिङको समयको कुरा हो, बत्ती थिएन । निद्राबाट ब्युँझदा मुक्तक फुरिहाल्यो । छेउमा सुतेकाको निद्रा बिथोल्नु पनि भएन । त्यसो भएको हुँदा मोबाइलमा सानो स्वरमा रेकर्ड गरेर राख्ने र भोलिपल्ट त्यसलाई डायरीमा टिप्ने गरेर तयार पारेको मुक्तक हो :
“गुन भएपछि सुन किन चाहियो,
मायाको तरकारीमा नुन किन चाहियो,
तिमी स्वयम् नै मसँग भएपछि
मलाई आकाशको त्यो जुन किन चाहियो ?”

त्यसै गरी कक्षामा बच्चाहरुलाई पढाउँदै गर्दा पनि कतिपय रचना टिपेको छु । त्यस्तै म साँस्कृतिक अध्ययनमा पनि लागेको छु । त्यस्ता साँस्कृतिक निबन्ध रचना गर्नका लागि भने प्रशस्त अध्ययन र अनुसन्धान गरेपछि मात्र लेख्ने गरेको छु । साहित्य सिर्जनाका लागि भने दिमागमा कुनै कुराले छोएपछि मात्रै त्यसलाई उतार्ने गरेको छु । लेख्छु भनेर मात्र लेख्न सकिँदैन रहेछ रमेशजी । म आज दशवटा कविता लेख्छु, एउटा राम्रो निबन्ध लेख्छु, एउटा सुन्दर लेख तयार पार्छु वा आज जसरी पनि एउटा कथा लेख्छु भनेर कहाँ लेख्न सकिँदो रहेछ र ? हो, अध्ययनका लागि भने म समय जरुर मिलाउँछु र सकेसम्म पढ्छु ।

रमेश प्रभात : तपाईंको हालसालै ‘सत्याग्रह’ भने कथासङ्ग्रह आएको छ । हामीले त तपाईंलाई कवि भनेर चिन्ने गरेका थियौँ । खासमा तपाईं कवि हो कि कथाकार ?
सूर्य लाकोजू : हो रमेशजी, चिन्नेहरु मलाई कविकै रुपमा चिन्ने गर्छन् । मैले कथा लेख्न थालेको धेरै भइसक्यो । यतिबेला मात्र सङ्ग्रह बनेको हो । कविता र कथा बनाउने कुरा फरक हुन्छन् भन्ने कुरा त मैले बताइरहनु पर्दैन होला । जब केही कुराले मलाई नराम्ररी छुन्छ नि हो त्यसपछि म कथा लेख्छु । यसैको परिणाम हो ‘सत्याग्रह’ । मैले कविता लेख्न कहाँ छोडेको छु र ?

रमेश प्रभात : साहित्यिक रचना कतिबेला गर्ने भन्ने सन्दर्भमा यहाँको विचार र प्रयोग के कस्तो छ ?
सूर्य लाकोजू : अब लेख्छु वा लेख्न बस्छु भनेर लेखिँदैन भन्ने धारणा हो मेरो । हो, विचार फुरेपछि भने फटाफट लेखिहाल्ने बानी छ मेरो । कुनै पनि रचना पटक पटक गरेर लेखेको छैन मैले । कुनै रचनालाई दोस्रोचोटि समय मिलाएर लेख्दा कतै न कतै नमिलेको बन्छ । रचनालाई पर्फेक्ट बनाउन एकै बसाइमा लेखेर सक्नुपर्छ भन्ने मान्यता छ मेरो । त्यसैले लेखन भनेको एकै पटकमा सकिने साधना हो ।

रमेश प्रभात : यहाँले कविता मात्र नभएर कथा पनि लेख्नुभएको छ । पछिल्लो कृति नै कथाको ल्याउनुभएको छ । कविताका हकमा यहाँको विचार मिल्ला । कथा सिर्जनाका लागि प्लट सोच्नु पर्‍यो, पात्र चयन गरेर लेख्नु पर्‍यो । अनि कथा एकै बसाइमा कसरी लेख्न सकिन्छ त ?
सूर्य लाकोजू : यहाँको प्रश्न सही हो । कथा लेख्न कम्तीमा दुई–चार घन्टा समय त छुट्याउनु पर्छ । त्योभन्दा अघि कुनै विचार वा घटनाले मष्तिष्का हिट गर्छ । कथा तयार हुनुअघि मलाई बाह्य तथा आन्तरिक कुराहरुले प्रभावित पार्छ । त्यसका बारेमा प्रशस्त सोच विचार गरेपछि मात्र म लेख्न बस्छु । हो, लेख्न बसेपछि भने पहिलो ड्राफ्ट पूरा नगरी उठ्दिनँ म । मेरो साहित्य यात्रा २०५२ सालतिरबाट कथाबाटै सुरु भएको हो । त्यतिबेला समाजका विषयलाई समेटेर कथा लेख्ने गर्थें, तर कृति तयार नभई त्यतिकै रोकिएको यात्रालाई पूरा गराउन मैले २०७९ सालसम्म कुर्नु पर्‍यो । मेरो ‘सत्याग्रह’मा एघारवटा कथाहरु छन् । ती कथाहरु कुनै पनि दोस्रो पटक लेखेको होइन ।

रमेश प्रभात : यहाँलाई रोकेर अर्को प्रश्नतर्फ लागेँ । तपाईं त लेखक मात्र नभएर शिक्षक र अनुसन्धाता पनि हुनहन्छ । एकै बसाइमा लेखेको रचना कसरी पर्फेक्ट हुनसक्छ ? त्यसमा पुनर्लेखन, परिष्कार र परिमार्जन चाहिँदैन र ? कि त महाकवि देवकोटा जत्तिकै क्षमतावान् हुनु पर्‍यो, नत्र कसरी सम्भव छ ?
सूर्य लाकोजू : हो, उपन्यास, महाकाव्य, खण्डकाव्य एक बसाइमा लेखेर सकिँदैन । तर कथा, कविता, निबन्धचाहिँ एकै बसाइमा लेखेर सक्नु पर्छ भन्ने आग्रह छ मेरो । म यहाँ कथाको सन्दर्भमा छु । हामीले लेख्ने कथा त्यति लामो पनि त हुँदैन नि । त्यसलाई एकै बसाइमा लेख्न सकिन्छ । त्यसरी नलेख्दा सिलाइ उध्रिएर हातले टिपेजस्तो हुन्छ, टालो हालेको लुगाजस्तो बन्छ भन्ने लाग्छ मलाई । लेखिसकेपछि त्यसलाई परिष्कार र परिमार्जन त एक पटक मात्र नभएर आफूलाई चित्त नबुझेसम्म जति पटक पनि गर्न सकिन्छ नि । संवाद कथा थप्ने, कहाँ हटाउने, भाषा कस्तो बनाउने, कथावस्तु, प्लट आदिमा के मिलाउने, शैलीमा कस्तो फेरबदल गर्ने, क्लाइमेक्स कस्तो भएको छ हेर्नेजस्ता काम त दोस्रो चरणमा पूरा हुने कुरा हो नि रमेशजी ।

रमेश प्रभात : भनेपछि यहाँले रचना गरेका सबै निबन्ध, कविता, कथा आदिमा पहिलो ड्राफ्ट एकैचोटिमा पूरा गर्ने गर्नुभएको छ हैन त ?
सूर्य लाकोजू : हो रमेशजी यसमा म अडिग छु । म तपाईंलाई एउटा कुरा सुनाऊँ मसँग तीन–चारवटा अपूर्ण कथाहरु छन् । विशेष काम परेर लेख्दा लेख्दै ती कथा पूरा हुन पाएनन् । त्यसपछि त्यो कथाको सुरताल मैले समात्न सकेको छैन । त्यसलाई त्यत्तिकै पूरा गर्ने हो भने उध्रिएर सिलाएकोजस्तो हुनजान्छ भनेर त्यत्तिकै राखिराखेको छु । हो, त्यसलाई फेरि लेखेँ भने मैले सुरुबाट लेख्नु पर्छ, त्यसो गर्दा कथा सुरु गर्दा मैले जुन धारणा राखेको थिएँ त्यो नआउन पनि सक्छ । अझ भनौँ त्यतिबेला गरेको सुखानुभूति वा दुःखानुभूति त्यही खालको अर्को बसाइमा आउँछ भन्ने मान्दिनँ म । यसरी फरक अनुभूति भएपछि रचना कसरी पूरा हुन्छ ? यसो गर्दा त्यो रचना विल्कुल नयाँ बन्न पनि सक्छ, अथवा कुरुप बन्न पनि सक्छ भनेर मैले त्यतिकै थन्क्याएर राखेको हुँ रमेशजी ।

रमेश प्रभात : तपाईंले आफूलाई कविताबाट कथामा किन विधा परिवर्तन गर्नुभयो ?
सूर्य लाकोजू : रमेशजी, मैले पहिले पनि भनेँ मेरो साहित्य यात्रा कथाबाट आरम्भ भएको हो । कथा लेख्नका लागि कुनै घटनाले मेरो मगजलाई जब नराम्रोसँग गाँज्नुपर्छ, त्यति नभएसम्म म कथा लेख्दिँन । यसरी मगजमा घटनाले राम्ररी छोएपछि प्लट बन्छ । त्यसका लागि उपयुक्त पात्र चयन गर्छु । यति गरिसकेपछि कथा आफसेआफ बग्छ । यसरी लेख्न थालेको कथा सलल बग्छ । यस्ता घटनाहरुको सूची लामै भएकाले मैले ‘सत्याग्रह’ कथासङ्ग्रह तयार पारेको हुँ । मैले कविता लेख्न कहाँ छोडेको छु र रमेशजी ? मगजले जस्तो स्थिति तयार पार्छ त्यतातिर पाइला चालेको मात्र हुँ ।

रमेश प्रभात : त्यसो भए यहाँले कथालेखनबाट फरक खालको सन्तुष्टि पनि पाउनु भएको छ ?
सूर्य लाकोजू : हो, मेरो ‘सत्याग्रह’मा सङ्कलित ‘घडेरी’ भन्ने कथा छ । त्यो कथा सङ्ग्रहमा आउनुअघि गोरखापत्रमा छापिएको थियो । त्यो कथाका कारण मैले थुप्रै साथीहरु पाएँ । फेसबुकमा थुप्रै फ्रेन्ड रिक्वेस्टहरु आए । मभन्दा अग्रजहरुबाट माया र स्नेह पाएँ । एउटा लेखकका लागि योभन्दा खुसीको कुरा के नै हुन सक्छ रमेशजी ?

रमेश प्रभात : एउटा गाँठी प्रश्न सोधौँ है ? तपाईं कवि हो, मुक्तककार हो, निबन्धकार हो र कथाकार पनि हो । खासमा तपाईं हो चाहिँ के ? म अलिक कन्फ्युज्ड भएँ । तपाईंचाहिँ आफूलाई के भन्न रुचाउनुहुन्छ सूर्यजी ?
सूर्य लाकोजू : रमेशजी, मुक्तक र कविता त पद्यका रुप नै भए । हो, मैले निबन्ध, कथा, अनुसन्धानात्मक लेखहरु पनि लेखेको छु । म आफूलाई खासमा कवि नै भन्न रुचाउँछु । तर कवितामा भन्न नसकेको कुरालाई कथामा भन्न सजिलो हुने रहेछ । त्यस्तै लोकप्रियताको हिसाबले पनि कविताभन्दा कथा बढी पाठकले पढ्छन् । तर कविता बौद्धिक जमातको लागि हो भन्ने ठहर हो मेरो । हुन त कविता लेखे पनि, निबन्ध लेखे पनि, कथा लेखे पनि गर्ने भनेको त साहित्यको सेवा नै हो । अक्षरकर्म भनेको चेतनाको कर्म हो, यो नितान्त आफ्नो लागि मात्र नभएर समग्र राष्ट्रको लागि हो । यसबाट विमुख छैन म ।

रमेश प्रभात : तपाईंले आफूलाई कविबाट कथाकारमा रुपान्तरित गरिसक्नु भएको छ । कविताले भन्न नसकेका कुरा लेख्नका लागि कथा लेखेको कुरा यहाँले स्वीकार गर्नु भयो । कथाले पनि भन्न नसकेका कुरालाई त उपन्यासले मात्र भन्न सक्ला हैन र ? त्यसो भए तपाईं उपन्यास लेखनमा चाहिँ कहिलेबाट आउनुहुन्छ त ?
सूर्य लाकोजू : हो रमेशजी, ममा एउटा उपन्यास लेख्ने हुटहुटीचाहिँ छ । त्यसका लागि समय मिलाउन सकेको छैन । त्यसको प्लट सोचिसकेको पनि छैन । जेहोस् म कम्तीमा एउटा उपन्यास जरुर लेख्छु, यो मेरो दृढ इच्छा हो । हेरौँ त्यो साइत कहिले जुर्छ ?

रमेश प्रभात : अब फेरि विषयान्तर गरौँ । यहाँले ‘पनौती’ लेख्नुभयो, ‘पनौतीका जात्रा’ लेख्नुभयो, ‘पनौतीका बाह्रवर्षे मकरमेला’ लेख्नुभयो । अनि तपाईँ बिस्तारै प्रौढतातिर पनि लाग्दै हुनुहुन्छ । बुढ्यौलीमा यहाँको लेखन साँस्कृतिक अध्ययन र लेखनतर्फ आकृष्ट हुने हो ?
सूर्य लाकोजू : खासमा त्यस्तो पनि होइन रमेशजी । संस्कृतिसम्बन्धी त्यति मात्र नभएर मेरा पाँच–सातवटा किताबहरु प्रकाशित भएका छन् । नेपालीमा मात्र नभएर अङ्ग्रेजीमा अनुवाद भएका पनि छन् । प्रौढका लागि मात्र नभएर बालबालिकाका लागि लेखिएका सामग्री पनि छापिएका छन् । ती सबै किताब पनौतीसँग सम्बन्धित छन् । त्यसो हुनुको कारण छ रमेशजी । म पनौतीमा जन्मिएँ, पनौतीमै हुर्किएँ र यही पनौतीलाई कर्मक्षेत्र बनाएको छु । यसको ऐतिहासिक, धार्मिक र साँस्कृतिक गरिमा छ । पहिला पनौतीका बारेमा एउटा भनाइ थियो, ‘घरहरुभन्दा मन्दिरहरु धेरै भएको सहर’ । पनौती भनेको प्रकृति र सँस्कृतिले अत्यन्त माया गरेको ठाउँ पनि हो । यो एउटै ढुङ्गामा अवस्थित प्राचीन सहर हो । यसलाई भूकम्पले पनि असर गर्दैन । अर्को कुरा तपाईंलाई थाहा छैन होला रमेशजी, नेवारी सँस्कृतिमा प्रचलित ‘योमरी’ छ नि, त्यसको उद्गमस्थल पनि यही पनौती हो । यो सहरको बारेमा उचित प्रचार प्रसार हुन सकेको छैन । युवापुस्तामा यो कुराको जानकारी दिनु पर्छ । यसलाई कसै न कसैले त लेख्नै पर्छ भन्ने लाग्यो । यसरी पनौतीलाई चिनाउनु पर्छ भन्ने ध्येयले प्रेरित भएर ती किताबहरु लेखेको हुँ । यी सब ‘जननी जन्म भूमिश्चः स्वर्गादपी गरियसीः’ का परिणाम हुन् । अझ भनौँ, मातृऋण, पितृऋण र गुरुऋणमध्ये मातृऋण तिर्न खोजेको मात्र हुँ । वास्तवमा ती ऋणहरु तिरेर तिर्न सकिने कुराचाहिँ हैनन् । त्यो बाहेक मेरो अरु कुनै स्वार्थ छैन । जहाँसम्म यहाँले साँस्कृतिक अध्ययनको कुरा गर्नुभयो, म पनौतीबाहेक अन्त गएको छैन ।

रमेश प्रभात : यहाँले पनौती चिनाउन करिब आधा दर्जन किताब लेखिसकेको कुरा गर्नुभयो । अगाडिको प्रसङ्गमा कविताभन्दा कथा धेरै पढ्छन् पनि भन्नुभयो । यहाँले ‘ज्योति ज्योति महाज्योति’ उपन्यास त जरुर पढ्नुभएको होला । त्यो उपन्यासले पशुपतिक्षेत्रलाई राम्रोसँग चिनाएको कुरासँग तपार्इं सहमत हुनुहुन्छ नि ? यहाँले लेख्न खोज्नुभएको उपन्यास त्यही पनौतीको इतिहास, भूगोल र सँस्कृतिका आसपासमा रहेर तयार पार्दा कस्तो होला ?
सूर्य लाकोजू : तपाईंले सही कुरा गर्नुभयो रमेशजी । मेरो सोचाइ पनि यसैमा छ । डा. गोविन्दराज भट्टराईसँग एकपल्ट कुरा हुँदा अनौपचारिक रुपमा यही कुरा गर्नुभएको थियो । उहाँले मेरो कथाकृतिको भूमिका लेखिसकेपछि पनौतीको पात्र, परिवेश र सँस्कृति झल्काएर उपन्यास लेख्न प्रेरित गर्नुभएको थियो । मेरो मगजमा त्यो कुरा खेलिरहेको छ । हेरौँ, त्यो दिन पनि आउला ।

रमेश प्रभात : यहाँले ‘अक्षरमार्ग’ नामक साहित्यिक पत्रिका निरन्तर चलाइरहनु भएको छ । त्यसको मार्फत्बाट विभिन्न व्यक्तिहरुको विशेषाङ्कहरु पनि निकालिराख्नुभएको छ । त्यो कसरी चलिरहेको छ ?
सूर्य लाकोजू : हामीले ‘अक्षरमार्ग’ प्रकाशन गर्न थालेको बाह्र वर्ष पूरा भयो । हो, साहित्यिक पत्रिका प्रकाशन गर्न निकै कठिन छ । त्यसका केही सीमाहरु छन् । विज्ञापन पाइँदैन, ग्राहक बनाए पनि समयमा पत्रिका पुर्‍याउन समस्या छ । यी सबका बाबजुद पनि साहित्यिक पत्रकारिता गर्नका लागि चाहिने सबैभन्दा मुख्य कुरा भनेको समर्पण हो । भाषा र साहित्यका लागि केही गर्छौं भन्ने अठोटका साथ हामीले यो ‘अक्षरमार्ग’ निकालिरहेका छौँ । त्यति मात्र होइन, हामीले हरेक वर्ष छजना विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्ने परिपाटी पनि बसालेका छौँ । त्यसको स्रोतचाहिँ के हो भने सुरुमा मैले मेरो आमाबुबाको नाममा केही पैसा बैँकमा राखेको थिएँ, त्यसको ब्याजबाट यो कार्यक्रम थालिएको थियो । अचेल मैले कुनै सम्मान वा पुरस्कारबापत पाएको रकम त्यसैमा थप्ने गरेको छु । मैले हालसम्म पाएको कुनै पनि पुरस्कारको रकम व्यक्तिगत खर्चमा लगाएको छैन । त्यति मात्र होइन, मेरा कृतिबाट पाएको लेखकस्व पनि त्यसैमा जम्मा गर्ने गरेको छु । मलाई खान त मेरो जागिरबाट पुगिहाल्छ । अतिरिक्त आम्दानी भयो भने गहना जोड्नतिर नलागी पुरस्कारलाई कसरी निरन्तरता दिने भन्नेमा मेरो ध्यान जान्छ । यसरी एउटा कोष बनेको छ । यसरी बनेको कोषले सम्मान मात्र नभएर हरेक वर्ष राष्ट्रलाई विशिष्ट योगदान दिनुहुने विभिन्न व्यक्तिको विशेषाङ्क पनि निकाल्दै आएका छौँ । यसरी विशेषाङ्क निकाल्दा निज व्यक्तिसँग आर्थिक सहयोग माग्ने गरिएको छैन । त्यसमा पनि कोषकै रकम प्रयोग हुन्छ । यसमा मेरो परिवारको पनि पूरा साथ र सहयोग पाएको छु । यी सब कुरा समर्पण त हुन् नि हैन र रमेशजी ?

रमेश प्रभात : यहाँले सम्मान र पुरस्कारको कुरा उठाउनु भयो । मैले तपाईंको भित्तैभरि सम्मान र पुरस्कारमा पाएका प्रमाणपत्रहरु देखेको छु । ठाउँ नपाएर केही त भुइँमा पनि ठडिएर बसेका पनि छन् । खासमा सम्मानले व्यक्तिको योगदानको उचित मूल्याङ्कन गर्छ कि गर्दैन ? सम्मान नपाउने स्रष्टाहरु वास्तवमा कमजोर नै हुन् त ?
सूर्य लाकोजू : सम्मानका बारेमा मसँग अन्य स्रष्टा मित्रहरुले पनि भन्ने गर्नुभएको छ, “तपाईँ सम्मानका कोणबाट निकै भाग्यमानी हुनुहुन्छ ।” हो, मैले कर्म गरेको जति फल पाएको छु भन्ने लाग्छ मलाई । त्यसो त फलको आशा गरेर कर्म गरिँदैन । म स्वयम् पनि त्यसो गर्दिनँ । खासमा म सम्मानकै लागि भनेर त लेख्दिनँ, तर मलाई लेखेबापत सम्मान भने मिलेकै छ ! यसबाट म खुसी नै छु । मलाई दिइएका ती सम्मानहरु मेरो साहित्यिक कामको अनुमोदन मात्रै हो । तर मेरो एउटा आग्रह छ, मेरो कर्म आग्रह वा पूर्वाग्रहबाट प्रेरित हुनुहुँदैन । पुरस्कार साटफेर गरेर लिनेदिनेहरुप्रति मेरो सख्त विमति छ । त्यस्तै एउटा लेखकलाई अर्कोसँग तुलना गर्ने कुरा पनि म राम्रो ठान्दिनँ । जहाँसम्म सम्मान पाउने लेखक महान् र नपाउने कमजोर भन्ने कुरासँग म बिल्कुल सहमत छैन ।

रमेश प्रभात : यहाँको साहित्यतर्फको निःस्वार्थ सेवा निरन्तर चलिरहोस् यही शुभकामना छ ।
सूर्य लाकोजू : धन्यवाद रमेशजी, यहाँले मेरो साहित्यिक कर्मका बारेमा प्रचार गरिदिनु भयो । मेरा विचारहरु चितवनको भूमिबाट नेपाली साहित्यका लाखौँ पाठकहरुसम्म पुर्‍याइदिनु भयो ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट