मनाइयो ‘भूपिनका कविता’ उत्सव

भरतपुर, १६ मंसिर ।
शनिबार चितवनमा ‘भूपिनका कविता’ उत्सव मनाइएको छ । उनको हालै प्रकाशित कविता कृति ‘भूपिनका कविता’ सार्वजनिकीकरणसँगै उनका कविताको उत्सव मनाइएको अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातले बताए ।
‘अरु बेलामा कृति विमोचन गरिन्थ्यो, अन्तरक्रिया गरिन्थ्यो तर हामीले आज भूपिनका कविताहरूको उत्सव मनाइरहेका छौँ’, अध्यक्ष प्रभातले भने – ‘समकालीन कवितामा भूपिनको उपस्थिति बलियो छ । उनका कविता आफैमा बलशाली छन् । उनका कविता सदाबहार कविता हुन् । त्यसैले हामीले उनका कविताको उत्सव मनाएका हौँ ।’

कृति सार्वजनिकीकरण कार्यक्रममा चितवनका अग्रज स्रष्टाहरू रेशम विरही, डाक्टर एकनारायण पौड्याल, उदय अधिकारी, निमेष निखिल, बुक हिल पब्लिकेसन्सका प्रमुख भुपेन्द्र खड्कालगायतले संयुक्तरुपमा कृति विमोचन गरेका हुन् ।
कवितासंग्रहमा ५९ वटा समसामयिक विषयका कविता समावेश गरिएको छ । कक्षा नौको नेपाली पाठ्यक्रममा समावेश गरिएको भूपिनको कविता ‘आमाको तस्बिर’ पनि यो संग्रहमा समावेश गरिएको छ । भूपिनका अघिल्ला दुईवटा संग्रह ‘हजार वर्षको निद्रा’ र ‘सुप्लाको हवाइजहाज’ बाट पाठकले रुचाएका कविताहरू छनोट गरेर ‘भूपिनका कविता’ निकालिएको कवि भूपिनले बताए । उनले आफ्ना कविता पाठकका माझमा गएकाले आफूले पाठकको प्रतिक्रिया पर्खेर बसेको बताए ।

कवितामाथि समीक्षात्मक टिप्पणी राख्दै समीक्षक डा. एकनारायण पौड्यालले भूपिनका कवितामा प्रतीक र बिम्ब सशक्त रूपमा आएको बताए । अर्का समीक्षक कवि निमेष निखिलले भूपिनका कविता युग सुहाउँदो भएको टिप्पणी राखे । प्रमुख अतिथि रेशम विरहीले कवि भूपिनका सिर्जना पाठकको मन–मस्तिष्कमा गाढा भएर रहन सक्ने बताए ।
कार्यक्रममा एलबी क्षेत्री, प्रकाश चापागाईं, डिबी बर्तौला, सागर उदास, अनिल श्रेष्ठ, बालकृष्ण थपलिया, ईश्वर कँडेललगायतले शुभकामना मन्तव्य राखेका थिए । कविता उत्सव कार्यक्रमलाई अक्षर समूहका ज्येष्ठ सदस्य उदय अधिकारीले अध्यक्षता गरेका थिए । उनले कवि भूपिनलाई उनका सिर्जनाले नयाँ उचाइमा लैजाने विश्वास व्यक्त गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट