देवचुली, १६ मंसिर ।
राष्ट्रिय स्वतन्त्र पार्टीले महोत्तरीको जलेश्वरमा भएको बैठकबाट राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको छ । रास्वपाको केन्द्रीय र संसदीय दलको बैठकले राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको रास्वपा महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले बताए ।
हाम्रो पार्टीको नीतिगत र वैचारिक अस्पष्टतालाई लिएर बारम्बार आरोप लगाइन्थ्यो, प्रश्न उठाइन्थ्यो,’ उनले भने, ‘त्यो वैचारिक अस्पष्टता जलेश्वरमा सम्पन्न बैठकबाट चिरेका छौँ । मूल विषय प्रस्ट गरेका छौँ, पूर्ण राजनीतिक दस्तावेज बिस्तारै सार्वजनिक गर्नेछौँ ।’राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशको नवलपुरको पिप्रहरमा संचालन भएको बैठकपछि आयोजित जलेश्वर बैठकबाट पारित संयुक्त दस्तावेजको विषयमा र वर्तमान राजनैतिक अवस्था आगामी कार्यदिशाको विषयमा प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिँदै उनले यस्तो भनेका हुन् ।
ढकालका अनुसारमा जलेश्वरको बैठकबाट पारित गरिएको दस्तावेजको प्रस्तावनामा रास्वपालाई सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टीका रुपमा चित्रित गरिएको छ । पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासनप्रणाली अपनाउने रास्वपाको दस्तावेजमा उल्लेख गरिएको उनले बताए ।
जलेश्वर बैठकबाट रास्वपाले वडा र पालिकामा आफ्नो उम्मेदवार छान्न उम्मेदवारको क्लब गठन गर्ने निर्णय गरेको छ । यो अवधारणाअन्तर्गत अब देशभरका वडा र पालिकामा उम्मेदवार क्लब गठन हुनेछ । वडा र पालिकाको अध्यक्ष बन्न चाहनेले यो क्लबमा सदस्यता लिनुपर्नेछ । त्यसपछि क्लबमा रहेकाको प्रशिक्षण, परीक्षण र आचरणलगायत पाँचवटा चरण हुनेछन् । पाँचवटा चरण पार गरेपछि एकजनालाई पार्टीले उम्मेदवारको टिकट दिनेछ । वडा र पालिका सभापतिले भने सिधै चौथो चरणमा प्रवेश पाउनेछन् । त्यस्तै, लिडरसिप एकेडेमीको अवधारणालाई पनि बैठकले पारित गरेको छ । ०८२ भित्र नेतृत्व प्रशिक्षणका लागि लिडरसिप एकेडेमी खोलिनेछ । ‘एकेडेमीबाट सर्टिफाईड भएपछि मात्र जुनैसुकै तहको उम्मेदवार बन्न पाइनेछ,’ महामन्त्री मुकुल ढकालले भने ।





