मकवानपुर, १६ मंसिर ।
हेटौंडा–१४ उत्तरपानीमा रहेको टसीलिङ खानेपानी तथा सरसफाई उपभोक्ता समिति हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गरिएकाे छ । समितिबाट सञ्चालित २ सय ८८ वटा धारा, डिप बोरिङ्ग तथा पानीटंकी सहितको खानेपानी योजना शुक्रबार बोर्डमा हस्तान्तरण गरिएको हो । टसीलिङ खानेपानी उपभोक्ता समिति बोर्डमा हस्तान्तरण भए संगै १४ नम्बर वडाको सम्पुर्ण क्षेत्रकाे खानेपानीको व्यवस्थापन बोर्डमा आएको छ ।
उक्त समिति बोर्डमा हस्तान्तरणपछि मंसिर महिना देखिनै २ सय ८८ धाराहरुका उपभोक्ताहरुले हेटौंडा उपमहानगरपालिकाले उपलब्ध गराएको मासिक १० हजार लिटर बराबरको खानेपानी निःशुल्क उपभोग गर्न पाउने भएका छन् । यस अघि नै मयूधाप खानेपानी तथा सरसफाई उपभोक्ता समिति, चुरियामाई संयुक्त खानेपानी तथा सरसफाई उपभोक्ता समिति र बनेलधाप कालोपानी खानेपानी तथा सरसफाई उपभोक्ता समिति बोर्डमा हस्तान्तरण भइसकेका छन् ।
बोर्डले पानी महशुल संकलनको लागि वडा नम्बर १४ स्थित बनेलधापमा प्रत्येक महिनाको २२ गतेदेखि मसान्तसम्म महशुल संकलन काउन्टर संचालन गर्दै आइरहेको जनाएको छ । समितिमा कार्यरत अवकाश पाएका कर्मचारी रामसिं थिङ र जयबहादुर थिङलाई हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनकुमारी लामा, उपमेयर राजेश वानियाँ, वडाध्यक्ष दीपक खड्कालगायतले दोसल्ला ओढाई, प्रमाणपत्र र नगदसहित सम्मान तथा बिदाईसमेत गरिएको छ ।
टसीलिङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष जगतबहादुर सिन्तानको अध्यक्षतामा भएको कार्यक्रममा लामाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा लामाले खानेपानीलाई व्यवस्थित गर्न र नगरवासीलाई सुविधा उपलब्ध गराउन उपमहानगरपालिकाले १० हजार लिटर पानीको महशुल निशुल्क गरेको बताइन् ।
उपमेयर राजेश बानियाँले निर्वाचनका बेलामा नगरवासी समक्ष गरेका प्रतिवद्धताहरु एकपछि अर्को गर्दै पूरा गरिरहेको बताए । वडाध्यक्ष दीपक खड्काले खानेपानीको जिम्मा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई दिएपछि वडामा पानीको समस्या नहुने बताए । कार्यक्रममा बोर्डका अध्यक्ष प्रताप बिष्ट, बोर्ड सदस्य इन्द्रप्रसाद नेपाल, बोर्डका कार्यकारी निर्देशक बिष्णुप्रसाद सापकोटालगायतको आतिथ्य रहेको थियो ।
हाल बोर्ड अन्तर्गत वडा नं. १४ मा १ हजार ६ सय ९८ वटा धाराहरु सञ्चालनमा रहेको छ । बोर्डको सेवा क्षेत्र भित्र हाल २६ हजार ५ सय धारा रहेको छ । बोडले प्रति दिन २ करोड ५५ लाख लिटर खानेपानी उत्पादन गरी वितरण गर्दै आइरहेको अध्यक्ष प्रताप विष्टले बताए ।





