रत्ननगर, १५ मंसिर ।
रत्ननगरमा आगामी आइतबार (मङ्सिर १७ गते)बाट दोस्रो अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । रत्ननगर नगरपालिकाअन्तर्गतको रत्ननगर खेलकुद विकास समितिको आयोजनामा नेपाल माविको खेल मैदानमा उक्त प्रतियोगिताको आयोजना हुन लागेको हो ।
आयोजकले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी र उद्देश्यका बारेमा जानकारी गराएको छ । जिल्लाका सात पालिकाका सात वटा प्रतिस्पर्धी टिमको सहभागिता रहने उक्त प्रतियोगिताको पुरस्कार राशि १ लाख ५१ हजार १११ रुपैयाँ रहेको रत्ननगर खेलकुद विकास समितिका संयोजक कृष्ण चौधरीले जानकारी दिए ।
प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको र प्रथम हुने टिमलाई १ लाख ५१ हजार १११ र दोस्रो हुने टिमलाई १ लाख १ हजार १११ रुपैयाँ, शिल्ड र मेडल प्रदान गरिने समितिका सहसंयोजक सौगात भुजेलले जानकारी दिए । फुटबलको विकास गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने उद्देश्यले मेयर कप फुटबल आयोजना गरिएको वडा नं ८ का वडाध्यक्षसमेत रहेका समितिका संयोजक चौधरीले बताए ।
प्रतियोगिताको तयारी सम्बन्धमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा नगर शिक्षा अधिकारी नारायण वाग्ले, शिक्षा अधिकृत राजेन्द्र बराल, रत्ननगरका फुटबल प्रशिक्षकहरू सूर्यमान श्रेष्ठ, लेखनाथ न्यौपानेलगायतले मन्तव्य राखेका थिए ।





