उठान
नेपाली साहित्यमा चितवनको उपस्थिति यतिबेला सशक्त बन्दै गइरहेको छ । उपन्यासका क्षेत्रमा केही पछाडि रहेको यो यात्रालाई अगाडि बढाउन चितवनका उपन्यासकार मनोज थारु ‘अज्ञात’ कम्मर कसेर लागिपरेका छन् । उनको हालसम्म ‘टुकी’ उपन्यास (२०७५) र ‘टुवरा’ उपन्यास (२०७९) प्रकाशित भइसकेको छन् । पेसाले शिक्षक उनी उपन्यास लेखनका अतिरिक्त कथालेखन, चित्रकारिता र पत्रकारितामा पनि क्रियाशील छन् ।
नेपाली उपन्यासमा थारुका कथा नेपाली उपन्यासका क्षेत्रमा हिजोआज प्रेम, विवाह, रहस्यात्मकता, द्वन्द्व आदिलाई छाडेर महिला, जनजाति, दलित, तेस्रोलिङ्गी र पिछडिएका वर्गका कथा लेख्ने प्रचलन बढ्दै जान थालेको छ । यसरी नेपाली उपन्यासले बिल्कुल नयाँ विषयवस्तुमा आफ्नो यात्रा तय गरिरहेको छ । यसो हुनुमा गणतन्त्रपछिको नेपाली राजनीतिको मुख्य भूमिका देखिन्छ । यही क्रममा भूमिपुत्रका रुपमा परिचित तथा सधैँ खेतमा काम गर्न रमाउने आदिवासी जनजातिका रूपमा परिचित थारुका कथालाई लिएर उपन्यास लेख्ने प्रचलन बढ्दै गएको छ । यस्तो यात्रा तय गर्नेमा रामलाल जोशीको ‘सखी’ (२०७५), महानन्द ढकालको ‘बुह्रान’ (२०७९), मनोज थारु अज्ञात’को ‘टुकी’ (२०७५) र ‘टुवरा’ (२०७९) प्रमुख छन् । थारु जातिको जीवन भोगाइलाई विषय बनाई तयार पारिएका यी माथिका ‘टुवरा’ उपन्यास बाहेक अन्य उपन्यासले निश्चित भूगोलका कुरा गरेका छन् भने ‘टुवरा’ले निश्चित भूगोलको कुरा नगरी नेपालभरि छरिएका थारुहरुको विगतको कथा बताएको छ ।
‘टुवरा’ उपन्यासको कथावस्तु
आख्यानकार मनोज थारु ‘अज्ञात’को दोस्रो उपन्यास ‘टुवरा’मा जेलमा परेर विक्षिप्त बनेको टुवरा थारुको दिनचर्याबाट कथा सुरु भएर वृत्ताकारीय संरचनामा अगाडि बढेको छ । यसमा टुवरा थारु र माइला तामाङको मित्रतालाई मूल रुपमा उभ्याइएको छ । निकै सोझो, मेहनती र हक्की स्वभावको टुवरा थारुले जीवनमा गरेका दुःख, सङ्घर्ष, प्रेम, प्राप्ति आदिलाई यो उपन्यासमा चित्रण गरिएको छ । नेपाली भाषा राम्ररी नजानेका कारण पनि उसले जीवनमा निकै दुःख पाएको छ । टुहरो भएका कारण ऊ नागरिक बन्नबाट बञ्चित भएको छ । जीवनभर दुःख गरेर पनि उसले जीवनको उत्तरार्धमा अनाहकमा जेलको सजायँ भोग्नु परेको छ । यसरी एउटा सोझो थारुले जीवनभर दुःख र दर्दबाहेक केही भोग्न नपाएको पीडाको कथा बनेको छ ‘टुवरा’ उपन्यास ।
‘टुवरा’ उपन्यासका पात्रहरु
‘टुवरा’ उपन्यासको उठान जेलबाट गरिएको छ । यसमा विक्षिप्त बनेको टुवरा थारुको सुरुमा उपस्थिति देखिन्छ भने जेलका अन्य पात्र पनि आरम्भमा देखिन्छन् । त्यसपछि कथा हसुली गाउँमा प्रवेश गर्छ । यो उपन्यास मूलतः टुवरा थारुको कथा भए पनि उसकी श्रीमती केल्हिया, ससुरा पतिया थारु, उसको छोरो अन्य पात्र हुन् । त्यसबाहेक टुवराको साथी माइला तामाङको पनि उपन्यासमा भूमिका देखिन्छ । यीबाहेक उसका थरिथरिका मालिकहरु, प्रहरी, सेना, गाउँले आदि पनि यसमा देखा परेका छन् । यसमा पात्रको ओइरो पाइन्छ । जेहोस्, पात्र प्रयोगका दृष्टिले यो उपन्यास सफल छ ।
‘टुवरा’ उपन्यासमा प्रयुक्त भाषाशैली
‘टुवरा’ उपन्यासमा थारुको कथा मुख्य भएर आएको छ । एक जना थारु लेखकले लेखेको र मुख्य पात्र टुवरा थारुका कथामा आधारित उपन्यास भएकाले यसमा थारु लवज प्रशस्तै आएको छ । सानैमा आमा–बाबु गुमाएका कारण टुहुरो अर्थात् टुवरा बनेको टुवरा थारु आफू अपठित भएका कारण नेपाली बोल्दा पनि थारु लवजमा बोल्ने गरेको तथ्य तलको साक्ष्यले पुष्टि गर्छ :
मैले अप्ठेरो मान्दै कहेथ्यो, ‘हामी काम गर्ने मन्से । जागा कमाउन आएको । बुधइ दादा कहेथियो मेरो भाइको कहनू। ऊ जागा मिलाइदिन्छ ।’
‘खोई हामीले (ले=लाई) न थाहा छ । याब साँझमा खेतसे घरमुखिया आउँछ । तब थाह हुन्छ । अहिले यही बैठ ।’
लगत्तै अर्को जनीले केल्हियाको देखाउँदै कह्यो, ‘ऊ तोर (तिम्रो) जनी छ रे ?’
म टाउको हिलाएर कह्यो, ‘हुँ ह ।’ (टुवरा, पृ. १३०)
टुवरा थारु र केल्हिया थरुनीका बीचमा मायाप्रेम बसेको र उनीहरुले बेलाबेलामा एकान्तमा संवाद गर्ने गरेको कुरा पनि उपन्यासमा आएको छ । यस्तो संवाद प्रायः थारु भाषामा हुने गरेको कुरा उपन्यासमा आएको छ । हेरौँ एउटा साक्ष्य :
टुवराले भन्यो, ‘चेरई चुनघुन क बात मन पर्सई तोर (चराचुरुङ्गी बोलेको तिमीलाई मन पर्छ ?)’
‘ह खा मन पर्सई (अँ एकदमै मन पर्छ ।)’
‘अ मोर फदिकवा (म बोलेको नि ?)’
‘झन् मन पर्सई (झनै मन पर्छ ।)’
‘मोई हइने फदकसही तोर नाही मन परई हतई ना (म नबोलेको तिमीलाई मन पर्दैन होला हगि ?)’
‘तोई हइने फदकले फेनि तोर मनवाक फदिकवा मन परसई (तिमी नबोले पनि तिम्रो मनले बोलेको मन पर्छ ।)’
‘मोर याके कथिकथि मन पर्सई (मेरो अरु केके मन पर्छ ?)’
‘जम्मे चिजवा (सबथोक ।)’ (टुवरा, पृ. ५५)
माथिको संवादमा थारु युवा टुवरा र थारु युवती केल्हियाले प्रेम दर्साउन गरेकोे मूल संवाद थारु भाषामा गरिएको भए पनि अन्य पाठकले उक्त संवाद नबुझेका कारण उपन्यास पढ्दा अप्ठ्यारो नहोस् भन्ने ध्येयका साथ उपन्यासकारले कोष्ठकभित्र नेपाली भाषाको प्रयोग पनि गरेका छन् । यसले गैर थारु समुदायका पाठकलाई सजिलो बनाएको छ ।
थारुको कथा लेखेको र त्यसमा पनि एउटा अपठित र जिन्दगीभर अरुका घरमा कामदारका रुपमा बसेको टुवरा थारुलाई मुख्य पात्र बनाएका कारण यसमा थारु लवजको भरमार उपयोग भएको छ । यसमा कताकति चितवनको भूगोलको छनक आए पनि समग्रमा थारुजातिको बसोबास रहेको नेपालको तराईको भूगोलको सुवास पाइन्छ ।
‘टुवरा’ उपन्यासमा चित्रित थारु संस्कृति
‘टुवरा’ उपन्यासको उठान कारागारबाट गरिएको छ । यसमा एउटा बूढो थारुले बर्बराएको कुराबाट कथाको उठान गरिएको भए पनि यसमा हसुली गाउँमा मनाइने चाडपर्वका कुरा विभिन्न प्रसङ्गमा आउनुका साथै त्यहाँका थारुहरुले गर्ने नाचगान र संस्कृतिका बारेमा पनि व्याख्या गरिएको छ । हेरौँ एउटा नमुना :
हसुली गाउँमा एकाबिहानै हरियरी बर्ना (पूजा) सुरु गरिएको थियो । पतिया काकाको घर पिछाडतर्फको खेतबीचमा सइनीको गाछी वरिपरि गाउँलेहरु झुम्मिएका थिए । टुवरा, केल्हिया र माइला पतिया काकाको खटनमा सर्जामको जोहोमा व्यस्त थिए । गाउँका गुरौले सइनीको गाछी फेदमा मन्त्र फलाक्दै गोबर माटोले दहलाई (लिपपोत) रहेका थिए । टुवराले बासेको रातो भाले बोकिरहेको थियो । माइलाले दुई हातमा एकुन्टा परेवाका बचेरा समातिरहेको थियो । दियाबाती, सलाई, फूलधूप, लड्डु, चामल, मोद (रक्सी) जस्ता सामलले भरिएको एक ढकियालाई केल्हियाले कम्मरमा अड्याइरहेकी थिई । पतिया काका ती सर्जाम गुरौका हातमा सुम्पन तम्तयार देखिन्थे । हसुली गाउँका सबै घरका घरमुखियाहरु गुरौ वरपर झुम्मिएर हेरिरहेका थिए । (टुवरा, पृ. ४७)
माथिको साक्ष्यमा हसुली गाउँमा हुने गरेको हरियाली पूजाका बारेमा चर्चा गरिएको छ । यसरी ‘टुवरा’ उपन्यासका उपन्यासकार मनोजले यसमा थारुको कथा लेखेको भएका कारण यसभित्र थारुले मनाउने चाडपर्व, उनीहरुको जीवनशैली, विवाह पद्धति, आनीबानी आदिका बारेमा सुन्दर चित्रण गरेका छन् । यसमा गैर थारु अर्थात् पहाडिया मूलको माइला तामाङ लगायतका अन्य व्यक्तिहरुको संस्कृति पनि उपयुक्त तरिकाले चित्रण गरिएको छ ।
बैठान
अन्त्यमा, उपन्यासकार मनोज थारु ‘अज्ञात’को दोस्रो उपन्यास ‘टुवरा’ले नेपालभरि छरिएर रहेका थारुका कथाव्यथालाई अगाडि बढाउने काम गरेको छ । जसमा थारुका मौलिक संवाद यथेष्ट रुपमा आउनुका साथै थारु लवजको भरमार प्रयोग भएको छ । त्यसो त लेखक मनोज आफू स्वयम् थारु हुनुुले कथामा मौलिक स्वाद आएको भान भएको कुरा यो कृतिले प्रमाणित गराइदिएको छ । मनोजको यो कृतिको युगान्तसम्म सफलताको लागि मुरी मुरी शुभकामना दिन चाहन्छु म । उनका कृतिहरुले उनलाई धेरै माथिसम्म पुर्याओस् भन्ने शुभेच्छा छ मेरो । उनी अब थारुको कथा भन्ने खाँटी लेखक बनिसकेका छन् । उनको आगामी कृति पनि भन्न बाँकी रहेका थारुका विषयवस्तुमा आधारित भएर जन्मियोस् भन्ने शुभेच्छा छ मेरो । अब मनोज थारु ‘अज्ञात’ होइन, ज्ञात भइसकेका छन् । उनलाई सफलताको मुरी मुरी शुभकामना छ मेरो ।




