भरतपुर, ११ असार ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले जेष्ठ, अशक्त र ओछ्यानमा परेका नागरिकलाई घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता दिनका लागि मन्त्रालयले प्रक्रिया अगाडि बढाएको
बताएकी छन् ।
शनिबार भरतपुरमा नमुना कल्याणकारी आश्रमले आयोजना
गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै
मन्त्री रेग्मीले भत्ता लिन जान नसक्ने जेष्ठ नागरिकलाई घरमा
नै भत्ता पुर्याउन नसकेमा उनीहरुले त्यसको उपभोग गर्न नसक्ने भएकाले मन्त्रालयले सम्बन्धित स्थानीय सरकारलाई यसको व्यवस्थापनको लागि निर्देशन दिन लागेको बताइन् ।
जेष्ठ नागरिकको लागि राज्यले यसअघि नै घोषणा गरिसकेको
यातायातमा छुटको व्यवस्था कार्यान्वयन हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै मन्त्री रेग्मीले यसको कार्यान्वयनका लागि यातायात
व्यवसायीसँग बिशेष छलफल गरि जेष्ठ नागरिक आरक्षण सीट र
भाडामा छुटको व्यवस्था कार्यान्वयन गराउन सबै स्थानीय निकायले समेत पहल गर्नुपर्ने बताइन् ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले जेष्ठ नागरिकको अनुभव र क्षमता नयाँ पुस्तामा हस्तान्तरण गर्दै त्यही अनुसार काम गर्नसके मात्रै उहाँहरू प्रति उच्च सम्मान पुग्नजाने बताइन् ।





