भरतपुर, १० असार ।
द इको मिनियन्स (टि.इ.एम.) संस्थाले टपरी बनाउने कार्यक्रम सम्पन्न गरेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका कृषि विज्ञान अध्ययनरत विद्यार्थीहरुको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । इको अर्थात इन्भायरमेन्ट अनि मिनियन अर्थात फ्लोअर्स नारामा काम गर्दै आएको इकोमिनियन्सले वातावरण सम्बन्धि कार्यक्रम गर्दै आईरहेको छ । टपरी प्रशिक्षणसँगै गँड्यौला खेती पनि सुरु गरिसकेको छ ।
कार्यक्रमकी प्रमुख अतिथि प्रा.डा. कल्याणी मिश्रले यसलाई नेपाली संस्कृति जोगाउने कार्यक्रम भएको बताइन् । `प्लेट किन्न भन्दा दुना टपरी बनाएर व्यवसायिक हिसाबले जान सकिन्छ । पातमा खाना खाँदा बगेर जाने हुँदा पातलाई आकार दिई टपरी बनाउन सकिन्छ´, मिश्रले भनिन् ।
कार्यक्रमकी विशिष्ट अतिथि प्रा. डा. शारदा थपलियाले प्लास्टिकजन्य बस्तुको प्रयोगलाई घटाई टपरीको प्रयोग गर्न सुझाव दिइन् ।
कार्यक्रमका अध्यक्ष साथै इकोमिनियन्स (टि.इ.एम.) का अध्यक्ष उपेन्द्र भुषालले पनि टपरी कार्यक्रम गाउँघरमा चल्दै आएको र विद्यालयमा नमूना प्रशिक्षणको रूपमा खासै नगरिएको हुँदा संचालनमा ल्याएको प्रसङ्ग बताए । यो खालको कार्यक्रम पर्यावरण जोगाउनको लागि पनि आवश्यक भएको र आउँदा दिनमा इकोमिनियन्सले यस्तै किसिमका कार्यक्रम आयोजना गर्दै जाने भुषाललले बताए ।





