देवचुली, १० असार ।
देवचुली नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सर्वसम्मत पास भएको छ । नगरप्रमुख हरिप्रसाद न्यौपानेले नगरपालिकाको १० औं नगरसभाको पहिलो बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पास भएको हो ।
नगरसभाले पारित गरेको नीति तथा कार्यक्रममा कृषिदेखि आर्थिक विकास र स्वरोजगारलाई प्राथमिकता दिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख न्यौपानेले प्राप्त स्रोतसाधनको व्यवस्थित परिचालन गरेर अधिकतम उपलब्धि हासिल गर्ने, स्वरोजगारी सिर्जना गरी गरीब तथा विपन्न परिवारको जीवनस्तर माथि उठाउने र सबै वर्ग, क्षेत्रको सन्तुलित परिमाणमुखी विकासको सिर्जना गर्दै `आर्थिक विकास र स्वरोजगार : समृद्ध देवचुलीको आधार´ निर्माणलाई ख्याल गरि सोही अनुसारका योजनाहरु नीति तथा कार्यक्रममा समेटिएको बताए ।
विषयगत रुपमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन किसानहरुलाई आवश्यक परामर्श दिने गरी नगर क्षेत्रमा सम्बन्धित विषयका १/१ जना विज्ञहरुको व्यवस्था, माटो परीक्षणको व्यवस्था, बिषादी न्युनीकरण अभियान संचालन गरि अर्गानिक तरकारी उत्पादन सहुलियत कार्यक्रम, कृषि अनुदानको व्यवस्था, एक घर एक करेसाबारी अनिवार्यका लागि सामुहिक तरकारी नर्सरी स्थापना, व्यावसायिक मकै उत्पादन क्षेत्र विस्तार, मौरीपालक व्यवसायीका लागि प्रबर्द्धनात्मक कार्यक्रम, किसानद्वारा उत्पादित हरियो तरकारीको बजारीकरणको लागि कृषि उपज संकलन केन्द्र संचालन गर्नेलगायतका कार्यक्रम समेटिएको छ । नगरपालिकाले पशुपन्छी प्रयोगशाला कक्ष निर्माण गरि पशुपन्छीका आधारभुत प्रयोगशाला संचालन गर्ने, पशुपन्छीका महामारीजन्य रोग नियन्त्रणका लागि नि:शुल्क औषधि वितरण तथा खोप संचालन गर्ने, व्यावसायिक पशुपन्छी फर्ममा यान्त्रिकरण कार्यक्रमलाई प्रोत्साहन गर्ने, कृषकहरुको सीप तथा क्षमता विकासका लागि व्यवसायिक पशुपन्छी तालिम संचालन गर्ने कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत नगरभित्रका सीप सिक्न इच्छुक व्यक्तिहरुलाई सीप तालिम संचालन गर्ने, उद्यमशिलता र सीपमूलक तालिम , उद्यमशिलता प्रवर्द्धन तथा रोजगारी सिर्जना सम्बन्धि कार्यक्रम , पशुपालन र कृषि क्षेत्रमा स्वरोजगारी सिर्जना गर्न विशेष कार्यक्रम संचालन गर्ने नीति तथा कार्यक्रममा रहेको छ ।
नगरभित्र रहेको होमस्टेलाई प्रवर्द्धन गर्दै आन्तरिक पर्यटनमा जोड दिने, नगरभित्रका पर्यटकीय स्थलहरुलाई प्रवर्द्धन गर्दै नयाँ पर्यटकीय स्थलको खोजीमा विशेष जोड दिने, घुमाउरी पिकनिक स्पोटलाई थप व्यवस्थित बनाउने, देवचुली डाँडा पर्यटनलाई देवचुली गन्तव्य कार्यक्रमसँग जोडी पर्यटन पूर्वाधार विकासलाई प्राथमिकता दिने, निजी क्षेत्रलाई केबुलकार निर्माण होटल लज संचालनमा लगानी गर्न आह्वान गर्ने, मध्यवर्ती क्षेत्रमा पर्यटकीय मार्ग ट्रयाक निर्माणको लागि आवश्यक बजेटको पहल गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।
भूमिहीन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्नको लागि तत्काल प्रकृया अगाडि बढाउने, सुकुम्बासी समस्या समाधानको लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममा रहेको छ ।
बाल विकास पूर्वाधार बसाई व्यवस्थापनमा मेयर कार्यक्रममार्फत बाल विकास केन्द्रहरुमा आवश्यक स्रोत, साधन र सिकाई सामग्रीलाई पर्याप्त गराउने, नगरपालिकाले बालबालिकासँग उपमेयर कार्यक्रम, कक्षा ८ र कक्षा ५ को परीक्षालाई नगरस्तरीय परीक्षा प्रणाली, विद्यालय समय भन्दा बाहेक कोचिङ, ट्युसन जस्ता थप शिक्षण विधिलाई निरुत्साहित गरि विद्यार्थीहरुलाई सिर्जनशील हुन र खेलकुद व्यायाम लगायत साँस्कृतिक कार्यमा सहभागी गराउन आवश्यक स्रोत र सामग्रीको व्यवस्था गर्ने, आधारभुत तहका विपन्न विद्यार्थीहरुको सिकाइ सुनिश्चितताको लागि नि: शुल्क अतिरिक्त पाठयपुस्तक तथा पोषण वितरण, विद्यालयमा बाल उद्यान निर्माण गर्ने र उत्कृष्टलाई परस्कृत गरिने नीति तथा कार्यक्रममा रहेको छ ।
नगर खेलकुद विकास समितिलाई सकृय बनाउने, नगरभित्रका खेलकुद मैदानहरुलाई थप व्यवस्थित र स्तरउन्नति,आन्तरिक खेलकुद प्रतियोगिता संचालन,विभिन्न स्तरका प्रतियोगितामा खेलाडी पठाउने नीति तथा कार्यक्रममा आएको छ ।
६८ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई वार्षिक दुई पटक (६/६ महिनामा) स्वास्थ्यकर्मी घर घरमै गएर स्वास्थ्य परीक्षण गर्ने, रगत व्यवस्थापनको कार्यमा रक्त परीक्षण शुल्क बापतको रकम कार्यविधी अनुसार अनुदान स्वरुप उपलब्ध गराउने, दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैयाको अस्पताल बनाउन आधार तयार गर्ने, घरमा शून्य सुत्केरी कार्यक्रमलाई निरन्तरता, स्वास्थ्य बिमा कार्यक्रमको पोलिसी अनुसार दुम्कौली अस्पतालबाट २४ सै घण्टा आवश्यक औषधी र स्वास्थ्यकर्मीको व्यवस्थापन मिलाउने, स्वास्थ्य बीमा कर्ताको क्षमता विकास तथा प्रोत्साहनको लागि आवश्यक कार्यक्रम गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।
महिला ,बालबालिका सशक्तीकरण कार्यक्रम, बालमैत्री घोषणा पुनरावलोकन सँगै विशेष कार्यक्रम संचालन गर्ने, सेनेटरी प्याड सम्बन्धि तालिम प्रदान गरि बजारीकरण लागि समन्वय, किशोरी हिंसालाई अन्त्य, अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामग्री उपलब्ध गराउने, पूर्वाधार अपाङ्गमैत्री बनाउने अभियानको थालनी, अपाङ्गता स्वरोजगार कार्यक्रममार्फत व्यावसाय वा पशुपालन गर्न बीउ पूँजीको व्यवस्था गर्ने, जेष्ठ नागरिक सम्मान कार्यक्रम संचालन गर्ने नीति तथा कार्यक्रममा रहेको छ ।
विपद् व्यवस्थापन कोष स्थापना, उद्दारमा आवश्यक आधारभूत सहयोगी सामग्रीको प्रबन्ध, खरको छाना भएको घरमा टिनको छाना लगाउने कार्यक्रम नीति तथा कार्यक्रममा आएको छ ।





