विचारविहीन दलको भविष्य (सम्पादकीय)

पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका सञ्चारकर्मी रवि लामिछानेले मंगलबार काठमाडौँस्थित राष्ट्रिय सभागृहबाट नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका छन् । आउँदो आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने आँकलन गरिएका लामिछानेले अन्ततः दल नै घोषणा गरे । तर उनको दल विचारविहीनहरुको झुण्डबाहेक केही नहुने पक्कापक्की छ ।

देशको व्यवस्था बदल्न नभई अवस्था बदल्न नयाँ पार्टी घोषणा गरिएको लामिछानेको भनाइ छ । उनले देशका प्रमुख दलहरुका नातावाद, परिवारवाद, चन्दा उठाउने कामलागयतका कमजोरीलाई आफ्नो पार्टीले निषेध गरेको बताएका छन् । यस पार्टीमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेका सबै जना अटाउने उनले उद्घोष गरेका छन् । यसको सिधा अर्थ हो उनको पार्टीको कुनै निर्देशक सिद्धान्त र विचार छैन । विचारविहीन दलको भविष्य कस्तो होला ? भविष्यले नै बताउने छ ।

हुन त विचारले मात्रै पनि पार्टी चल्ने होइन । यसको ज्वलन्त उदाहरण हो, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको पूर्वदल नयाँ शक्ति पार्टी । उक्त पार्टीको विचार र निर्देशक सिद्धान्त अलि खिचडी टाइपको थियो । समृद्धिको नारा अगाडि सारेको नयाँ शक्ति पार्टी नयाँ मात्र रह्यो शक्ति बन्न सकेन । यतिबेला लामिछानेले घोषणा गरेको पार्टी स्वतन्त्र रहला तर राष्ट्रिय पार्टी बन्न सक्ने आधार देखिँदैन ।

कार्यकर्ताबिनाको पार्टी हुँदैन, तर लामिछानेले आफ्नो पार्टीमा कोही कार्यकर्ता नहुने, भ्रातृ संगठन पनि नहुने बताएका छन् । उनले पार्टीमा सदस्य र फलोअर्स मात्र हुने बताएका छन् । पार्टीको फलोअर्स भन्नु नै कार्यकर्ता होइनन् र ?

काठमाडौँ महानगरपालिकाको नगर प्रमुख पदमा कलाकार बालेन्द्र साह बालेनको जितले राजधानीवासीको असन्तुष्टि छर्लङ्ग पारिदिएको छ । यसैगरी धरान उपमहानगरपालिकाको प्रमुख पदमा पनि स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ राई विजयी भए । धनगढीमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमाल नगर प्रमुख बने । यी पात्रहरुको सफलताले अरुलाई पनि ऊर्जा दिनु स्वाभाविक छ । स्थानीय तहको प्रमुख पद भनेको कार्यकारी पद भएकोले परिवर्तन सम्भव छ । तर संघ र प्रदेशको चुनावमा सांसद हुनु भनेको प्रधानमन्त्री वा मुख्यमन्त्री हुनु नभएकोले चुनाव जिते पनि कार्यकारी बन्न सम्भव देखिँदैन । देशभरिबाट बहुमत सांसद स्वतन्त्र वा राष्ट्रिय स्वतन्त्र पार्टीबाट आए भने कुरो बेग्लै भयो । यस्तो हुन असम्भव त नभनौँ, सम्भव भने छैन ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट