भरतपुर, ५ असार ।
भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले योग लामोआयु र स्वस्थजीवन प्राप्त गर्ने माध्यम भएको बताएका छन् । उपप्रमुख अधिकारीले नियमित गरिने योगाभ्यासले नै मान्छेलाइ पूर्ण रुपमा निरोगी बनाउने पनि बताए ।
अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आइतबार बिहान नारायणी नदि किनारमा आयोजित योग शिविरमा सहभागी हुँदै उपप्रमुख अधिकारीले यस्तो बताएका हुन् ।
योग शिविरलाई भारतीय दूतावास, उद्योग वाणिज्य संघ चितवन र स्काउट कल्याण सेवा समाजले आयोजना गरेका हुन् । योगले मानिसका धेरै रोग निको हुने बताउँदै उपप्रमुख अधिकारीले आफू पनि नियमितरुपमा जस्तै शीर्षासनलगायतका योगाभ्यास गर्ने गरेको बताए । उपप्रमुख अधिकारीले अमेरिकालगायत संसारमै योगको महत्व रहेको पनि बताए । ‘यस्तो किसिमको योग शिविर सधैं जसो सञ्चालन भइ रहनु पर्छ, योगाभ्यास एकदमै आरामपूर्वक, शान्तिपूर्वक तरिकाबाट गरिने सूक्ष्म प्रक्रिया हो, आज लाखौँकरोडौँ मानिसहरू योगको अभ्यास गरिरहेका छन्´ उपप्रमुख अधिकारीले भने ।
शिविरमा उपप्रमुख अधिकारीसहित उद्योग वाणिज्य संघ चितवनका कार्यसमिति सदस्यहरु, स्काउट कल्याण सेवा समाजका सदस्यहरु, समाजसेवी, डाक्टर, वकिल, पत्रकारलगायत सर्बसाधारणको उपस्थिति रहेको थियोे ।




