राप्ती, ४ असार ।
राप्ती नगरपालिका वडा नम्बर ५ मा डिप सिँचाइ बोरिङको शिलान्यास भएको छ । राप्ती-५ का वडा अध्यक्ष सीताराम तामाङले बोरिङको शिलान्यास गरेका हुन् ।
नेपाल सरकार उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गत चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाबाट विनियोजित बजेटबाट बोरिङ खन्ने काम सुरु गरिएको हो ।
बोरिङको लागि समाजसेवी सन्देश घलानले पहल गरेका थिए । ५० लाख भन्दा बढी लागतमा आयोजनाको सुरुवात गरिएको घलानले बताए । मंगलटाँडी, लौगाईँ र चौकीडाँडाको क्षेत्रमा पाइपलाइन विस्तार गरि सिँचाइको पहुँच पुर्याइने उनले बताए ।
बोरिङले करिब ४० विगाहाभन्दा बढी जग्गा समेट्ने पनि उनले बताएका छन् ।
बोरिङको शिलान्यास गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष तामाङले धेरै अघिदेखिको सोच अहिले पूरा भएको बताए । सिँचाइको अभावले खेतीयोग्य जमिन बाँझो राख्नुपर्ने बाध्यता हट्नेमा पनि उनले जोड दिए ।
सिँचाइ बोरिङ बन्ने भएपछि स्थानीयमा खुशी छाएको छ । मँगलटाँडीमा मात्र नभई यो योजनाले समग्र राप्ती-५ बासीमा खुशी छाएको स्थानीय सोमदास वाइवाले बताए । उनले जलस्रोत विभाग र पहलकर्ता घलानलाई धन्यवाद व्यक्त गरे । त्यस्तै सिँचाइ कै लागि भनेर बर्षा मौसम कुर्नु नपर्ने अर्का स्थानीय गणेश लामाले बताए ।
कार्यक्रममा जनप्रतिनिधि मदन गोपाल लटौलालगायत स्थानीयको सहभागिता रहेको थियो ।





