भरतपुर, ४ असार ।
विद्यार्थीहरुलाई प्रयोगात्मक ज्ञान दिने उद्देश्यले भरतपुर महानगरपालिक वडा नम्बर ५ गुलफबागस्थित श्री भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालयले विद्यार्थी नेतृत्व चयनकाे लागि नमूना निर्वाचन सम्पन्न गरेकाे छ ।
विद्यार्थीलाई निर्वाचनको बारेमा व्यवहारिक ज्ञान दिने उदेश्यले नमूना निर्वाचन गरिएको मतदान अधिकृत निशा कंडेलले बताइन् ।
`विद्यार्थीलाई निर्वाचनको प्रकियाबारे बुझाउन नमूना निर्वाचन कोसेढुंगा साबित भएको छ´ कँडेलले बताइन् ।
विद्यार्थीहरूमा चुनाव सम्बन्धि अवधारणा दिने उद्देश्यका साथ सम्पन्न भएकाे उक्त कार्यक्रममा कक्षा १ देखि ६ सम्मका १८४ जना विद्यार्थीहरुले भाग लिएका थिए । चुनावबाट स्कुल हेड ब्वाइ, स्कुल हेड गर्ल र चारवटा हाउसकाे क्याप्टेन तथा भाईस क्याप्टेन छनाैट गरिएकाे छ । निर्वाचनकाे लागि चाहिने सम्पूर्ण प्रक्रियाहरू अवलम्बन गरिएकाे उक्त निर्वाचनबाट विद्यार्थीहरूले निर्वाचन सम्बन्धि ज्ञान हासिल गरेका र यसले विद्यार्थीहरूमा सकारात्मक सन्देश दिएकाे प्रधानाध्यापक राजेन्द्रप्रसाद चालिसेले बताए ।
शिक्षक तथा विद्यार्थीहरुकाे अनुकरणीय सक्रियता रहेकाे उक्त निर्वाचनले हेड ब्वाइमा रियाज पाैडेल र हेड गर्लमा दीपिका थापालाई छनाैट गरेकाे छ । त्यस्तै चारवटा हाउसमा अन्नपूर्ण हाउसको क्याप्टेनमा रन्जित सापकोटा तथा भाइस क्याप्टेनमा सन्तोष शर्मा, लाङटाङ हाउसको क्याप्टेनमा सोनिया श्रेष्ठ तथा भाइस क्यपटेनमा जेम्स थापामगर, कञ्चनजंघा हाउसको क्याप्टेनमा सरोज कंडेल तथा भाइस क्याप्टेनमा निगम नेपाली र धौलागिरी हाउसको क्याप्टेनमा आयुसा माडेम्बा र भाइस क्याप्टेनमा रोसन भण्डारीलाई छनौट गरेको छ ।
नमूना निर्वाचनका कारण विद्यार्थीले घर घरमा गएर आफ्ना अभिभावकलाई निर्वाचनमा मतदान गर्न सिकाउने हुनाले आगामी निर्वाचनमा बदर मतको संख्यामा कमी हुने विद्यालयका सहायक प्रधानाध्यापक रोजिना न्यौपानेले बताइन् ।
आजका बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरुमा नेतृत्वदायी क्षमताको विकास गर्ने उद्देश्यले विद्यालयले नमूना निर्वाचन गरेको अतिरिक्त क्रियाकलाप इन्चार्ज प्रदीपकुमार करले जानकारी दिँदै आगामी वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिने बताए ।
अघिल्लो हप्ता भरतपुरस्थित अंकुरम एकेडमीले पनि विद्यालयका सबै तहमा नेतृत्व चयनका लागि नमूना निर्वाचन चयन गरेको छ ।





