धादिङ, ४ असार ।
नीलकण्ठ नगरपालिका ८ मा मलामी बोकेको गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । मलामी लिएर ज्वालामुखी गाउँपालिका–३ मैदी जाँदै गरेको स्वराज गाडी दुर्घटना भएको हो ।
गएराति करीब १० बजे मलामी बोकेर मैदी जाँदै गरेको बा ४ ख १२२९ नम्बरको स्वराज गाडी मैदीभञ्ज्याङमा अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
घाइते भएका ११ जनामध्ये ज्वालामुखी २ का ४६ वर्षीय शिवकुमार श्रेष्ठ, ज्वालामुखी ३ का १५ वर्षीय अशोक श्रेष्ठ, सोही ठाउँका ४० वर्षीय पदम बहादुर मगर, २५ वर्षीय नारायण श्रेष्ठ र धनबहादुर मगरलाई उपचारका लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको छ ।
घाइतेमध्ये ६ जना जिल्ला अस्पताल धादिङमा सामान्य उपचारपश्चात् डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको स्वराज गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे जाँचबुझ शुरु गरेको छ।





