चितवन खबर पत्रिकाको ११ औँ वार्षिकोत्सव काठमाडौंमा सम्पन्न

काठमाडौँ, ४ असार ।
चितवनको सञ्चार क्षेत्रमा अग्रणी स्थान ओगट्न सफल मोफसल कै चर्चित चितवन खबर राष्ट्रिय अर्धसाप्ताहिक पत्रिकाले गौरवमय ११ औँ वार्षिकोत्सव काठमाडौँमा कार्यक्रम गरेर मनाएको छ ।

छापा पत्रकारिताको दुनियाँमा एक दशकदेखि अनवरतरूपमा प्रकाशनमा आएको चितवनबाट प्रकाशित पहिलो र एकमात्र रंगिन साप्ताहिक पत्रिका हो ।

काठमाडौंमा एक कार्यक्रमका बीच विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको आतिथ्यतामा शुभकामना आदानप्रदान गरिएको थियो । वार्षिकोत्सव कार्यक्रममा बोल्दै नेपाल चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह ‘राजा’ ले मोफसलमा रहेर विभिन्न चुनौतीका बिच पत्रकारितालाई नियमित गरेको भन्दै चितवन खबर पत्रिकाको उच्च प्रशंसा गरे । मिडियाले कला र कलाकारलाई सधैं माया गर्दै आएको भन्दै मिडिया र कलाकारिता बीच सधैं नङ र मासुको जस्तै सम्बन्ध हुनुपर्ने उनले बताए । उनले पत्रिकाले विगत एक दशकदेखि देशको समग्र आर्थिक, सामाजिक, राजनैतिक रूपान्तरणमा खेलेको भूमिका अतुलनीय र अविस्मरणीय रहेको बताए । आगामी दिनमा पत्रिकाले सामाजिक उत्तरदायित्वका साथै आवाज विहीनको आवाजको रूपमा सदैव स्थापित हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाली चलचित्र उद्योगकी लोकप्रिय अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पत्रकारिताको माध्यमबाट चितवन खबरले समाजलाई सुसूचित गरेको भन्दै प्रशंसा गरिन् । उनले आगामी दिनमा पत्रिकाले विकृति विसङ्गतिलाई चिर्दै समाजको ऐनाको रूपमा भूमिका निर्वाह गरेर अघि बढ्नुपर्ने भन्दै पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गरिन् ।

कार्यक्रमको सभापति एवम् पत्रिकाका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले आगामी दिनमा सबैको सल्लाह सुझाव अनुसार नै पत्रिकालाई अझ परिष्कृत र परिमार्जन गर्दै लैजाने र पत्रिकालाई यहाँसम्म ल्याई पुर्‍याउने समस्त पाठक, शुभेच्छुक विज्ञापनदाता प्रति कार्कीले आभार प्रकट गरे । महाप्रबन्धक कार्कीले पत्रिकाले जस्तोसुकै विषम परिस्थितिमा पनि पत्रिकाले आफ्नो व्यावसायिक धर्म निर्वाह गर्दै आएको बताए ।

त्यस्तै नेपाली सांगीतिक क्षेत्रका चर्चित बरिष्ठ सदावहार गायक आनन्द कार्कीले पत्रिकालाई शुभकामना दिंदै पत्रकारिताको जगतबाट चितवन खबरले समाजमा पुर्‍याएको योगदानको प्रशंसा गरे ।

कार्यक्रममा लक्की मिडिया हाउस चितवनका निर्देशक समाजसेवी गोविन्दराज पाण्डे, कलाकार कमल खड्का, चलचित्र पत्रकार मनिष कार्कीलगायत नागरिक अगुवा , शुभेच्छुक, विज्ञापनदातालगायतको उपस्थिति रहेको थियो । चितवन खबर पत्रिका सँगै अनलाइन संस्करण इ चितवनखबर डटकममार्फत पनि सूचना समाचार सम्प्रेषण गर्दै आएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट