भरतपुर, २ असार ।
समालोचक विष्णुप्रसाद पौडेल `अपरिचित´को अनुसन्धानमूलक नयाँ पुस्तक `पाँच रत्न एघार फूल´ सार्वजनिक भएको छ ।
पुस्तकमा समालोचक पौडेलले चितवन जिल्लाका पाँच जना नारी स्रस्टाका एघारओटा औपन्यासिक कृतिमा केन्द्रित रही खोजपूर्ण सूक्ष्म एवम् गहन विश्लेषण गरेका छन् । चितवनका पाँच जना नारी स्रस्टाहरू शोभा राना, सरला जोशी, जलेश्वरी श्रेष्ठ, शारदा ढुङ्गाना र निरुपा प्रसूनका औपन्यासिक कृतिको चर्चा यस पुस्तकमा गरिएको छ ।
पुस्तकमा भूमिका लेख्दै गोविन्दराज विनोदीले भनेका छन् -`साहित्यमा उर्वर मानिएको चितवनभूमिमा नारी स्रस्टाहरूको न्यूनता रहेको र त्यसमा पनि नारी उपन्यासकारहरूको उपस्थिति ज्यादै कम देखापरेको परिप्रेक्ष्यमा यस क्षेत्रमा कलम चलाउने नारीहरूका लागि प्रेरणाका रूपमा पनि यो समालोचनात्मक कृतिले अर्थ र महत्त्व राख्दछ ।´
पुस्तकलाई त्रिवेणी साहित्य परिषद् नवलपरासीले प्रकाशन गरेको हो । सम्पूर्ण किताब नारायणगढ यसको वितरक रहेको छ । पुस्तकको मूल्य ५०१/- रुपैयाँ छ ।





