भरतपुर, १ असार ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न भरतपुर महानगरपालिका तयार रहेको बताएकी छन् ।
नेपाली युवा उद्यमी मञ्च चितवन शाखाले बुधबार भरतपुरमा आयोजना गरेको उद्यमशील सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मेयर दाहालले सो कुरा बताएकी हुन् । मेयर दाहालले विगतमा महानगरपालिका र निजी क्षेत्रबीच सहकार्य भएर केही पूर्वाधार विकास निर्माणको काम भएको उल्लेख गरिन् । ‘निजी क्षेत्रसँग सधैं हातेमालो गर्न तयार छौँ’ उनले भनिन् – ‘महानगरपालिका एक्लै हिँडेर यहाँको विकास हुँदैन । निजी क्षेत्रसँग सहकार्य गर्न महानगर सधैँ सकारात्मक छ ।’
चितवनमा रहेका निजी क्षेत्रको सहकार्यमा लायन्सचोकमा बहुउद्देश्यीय व्यापारिक भवन, नारायणी नदीमा पूर्वाधार विकासका कामहरु भइरहेका छन् । मेयर दाहालले निर्वाचनको घोषणापत्रमा ‘मेड ईन भरतपुर’ कार्यक्रमलाई प्रथामिकतामा राखिएकाले यस कार्यक्रममा नेपाली युवा उद्यमी मञ्च चितवनले सहकार्य गर्न सक्ने उल्लेख गरिन् ।





