देवचुली, २९ जेठ ।
देवचुली नगरपालिका वडा नम्बर १० मा रहेको पृथ्वी माध्यमिक विद्यालयका विद्यार्थीहरुले बालश्रम विरुद्ध सचेतनामूलक र्याली निकालेका छन् ।
विश्व बालश्रम विरुद्धको दिवसको अवसरमा पृथ्वी माध्यमिक विद्यालयमा रहेको पृथ्वी बाल क्लबको आयोजनामा र्याली सहित कार्यक्रम गरि दिवस मनाईएको हो ।
हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाइने गरिएको छ ।बालबालिकालाई श्रमिकका रुपमा प्रयोग गरिने कार्यविरुद्ध बालश्रम विरुद्धको दिवस मनाउन थालिएको हो । बालश्रम विरुद्ध आईएलओ महासन्धि १८२ र श्रममा प्रवेश गर्ने न्युनतम उमेर सम्बन्धि महासन्धि १३८कार्यान्वयनको सन्दर्भ पारेर सन् २००२ देखि १२ जुनलाई विश्व बालश्रम विरुद्धको दिवसका रुपमा मनाउन थालिएको हो ।
पृथ्वी बाल क्लबका अध्यक्ष प्रीतम कार्कीको अध्यक्षता भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर घर्तीको प्रमुख आतिथ्यता, विद्यालयका प्रधानाध्यापक जयनारायण सापकोटाको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सहभागी सबैले बालश्रम अन्त्यका लागि प्रतिबद्धता व्यक्त गरेका थिए ।
“बालश्रम अन्त्य गरौं, बालबालिकाको ईच्छा बालश्रम होईन शिक्षा, बालश्रम विरुद्धको साझेदारी हामी सबैको जिम्मेवारी ” लगायत नारा लेखिएको प्लेकार्ड सहित विद्यार्थीहरुले विद्यालयबाट पृथ्वीनगर चोकको दुवैतर्फ र्याली सहित समुदायलाई सचेतना प्रवाह गरेका थिए । र्यालीमा कक्षा ७ र ८ का विद्यार्थीहरु सहभागी रहेको शिक्षक बिनिता सिग्देलले जानकारी दिइन् ।





